राजनीतिक सहमतिले अर्थतन्त्र मजवुत हुने विश्वास – नेपाल उद्योग परिसंघ

संबिधान निमार्णको लागि प्रमुख दलहरु वीच १६ बुँदे सहमति भएको छ । विगत ८ वर्ष देखि हुदै आएको राजनीतिक दलहरु विचको लामो तथा पट्यार लाग्दो सम्बादबाट नेपाली  जनतामा र बिषेश गरी  उद्योग व्यवसायको क्षेत्रमा व्याप्त नैराश्यतालाई यस सहमतिले एकातिर धेरै मात्रामा  आशाको संचार गराएको छ  भने अर्कोतिर यस सहमतिबाट संबिधान निमार्णको वाटो खुल्ला हुने विश्वास एवं अनुभूति समेत निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघले गरेको छ ।
मुलुक वर्षौ देखि राजनीतिक संक्रमणको स्थितिबाट गुज्रिरहेका रहेका कारण एकातिर आर्थिक अवस्थामा नराम्रो असर परेको यथार्थ हामी  सबै सामु स्पष्ट छ  भने अर्कोतिर हालै  मुलुकमा गएको विनासकारी भूकम्पका कारण देशमा अभुतपुर्व रुपमा जनधनको क्षती भएको छ । यसबाट राष्ट्रको भौतिक, आर्थिक एवं सामाजिक संरचनामानै दीर्घकालिन असर पर्न जाने तथ्य लाई हृदयगंम गर्दै नेपालको नवनिर्माणको लागि हातेमालो गर्न हामी सबै राजनीतिक दलहरुलाई हार्दिक आह्वान गर्दछौं । हालको बिषम परिस्थितिमा अर्थतन्त्रको प्रगति खस्कदै गएको र स्वदेशमा रोजगारीका  अवसरहरु अत्यन्त न्यून रहेको तथ्य लाई मनन गरि हालको सहमती बाट यथाशिघ्र संबिधान निर्माण गर्ने र अर्थतन्त्र लाई गतिशिल बनाई  नेपालको अल्पकालीन र दीर्घकालीन बिकाश रणनीति सहित राष्ट्रको नवनिर्माण  गर्दै लगानी मैत्री  व्यवसायिक वातावरणको श्रृजना  गर्न हामी हार्दिक अपिल गर्दछौं । हालको सहमति कार्यन्वयन गरि  नेपालको परिवर्तनलाई  सकारात्मक रुपले तात्विक निश्कर्षमा पुरयाउदै स्वदेश एवं अन्तराष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह गर्न नेपाल उद्योग परिसंघ सम्बन्धित सवैमा आह्वान गर्दछ ।