विदेशमा लगानी गर्न रोक नलगाईने – अर्थमन्त्री

अर्थमन्त्री डा. रामशरण महतले भनेका छन् कुनै पनि नेपालीले कानुन अनुसार आफूले आर्जन गरेको पूँजी एवं आफ्नो शिप, प्रतिभा र प्रविधि विदेशमा लगानी गर्दछ र सम्पत्ति आर्जन गर्छ भने सरकारले त्यसमा रोक लगाउन पर्ने कारण आउँदैन । 
उक्त धारणा नेपाल उद्योग परिसंघले असार २२ गते अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७२/७३ को पूर्व वजेट छलफलको क्रममा परिसंघ द्वारा प्रस्तुत सुझावहरुको जवाफ दिने क्रममा व्यक्त गरेका हुन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा औद्योगिक सुधार गर्न धेरै काम गर्न पर्ने हुँदा आगामी वजेटले यस तर्फ विशेष ध्यान दिने र परिसंघका सुझावहरुलाई वजेटमा समावश गर्न प्रयत्न गरिने छ भन्दै आगामी वजेटमा पूर्वाधार निर्माणमा विशेष जोड दिईने र आगामी पाँच वर्ष भित्रमा काठमाण्डौ तराई द्रुतमार्गको निर्माण सम्पन्न गर्ने गरि कार्यबाही अघि वढाइने धारणा व्यक्त गरे ।
यस अघि परिसंघको तर्फबाट आगामी वजेटका सम्बन्धमा नीतिगत अवधारणा व्यक्त गर्ने क्रममा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले सामाजिक सुधारमा केन्द्रित हुने यस अघिका वजेटको परिपाटीमा सुधार गरि अवको वजेट तथा योजनाहरुको मोडेल आर्थिक रुपान्तरण सहित रोजगारी वृद्धि हुने ढंगबाट ल्याईनुपर्ने भन्दै वजेट अर्थतन्त्रको सम्बाहक हुनु पर्ने  र राजश्व मूखि नभई लगानी वृद्धि र निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापन गर्ने उद्देश्यमा केन्द्रित गरि निजी क्षेत्रमैत्री हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।
सो अवसरमा आगामी वजेट वारे परिसंघको धारणा र सुझाव प्रस्तुत गर्दै परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले भूकम्पको कारण क्षतिग्रस्त उद्योग व्यवसायमा कुनै पनि थप नयाँ कर लगाईन नहुने, कर्पोरेट करमा पाँच वर्षको लागि ५% छुट हुनु पर्ने, मूल्य अभिवृद्धि करको हालको दरमा ५ वर्षका लागि ३% कम गर्नु पर्ने, वातावरण संरक्षणको कारण देखाई उद्योगहरु स्थापना गर्दा EIA गर्नु पर्ने हालको प्रावधानले लगानी हतोत्साही हुने भएकोले यसमा लचकता अपनाउनु पर्ने, साना तथा मझ्यौला उद्योगको पुनरुत्थानको लागि परिसंघबाट प्रस्तावित “व्यवसाय पुनरुत्थान केन्द्र (BRC)” को स्थापना र सन्चालनलाई सरकारले स्वीकृत गरि वजेटको व्यवस्था हुनु पर्ने विषयमा जोड दिएका थिए ।
प्रारम्भमा राजस्व सचिव नवराज भण्डारीले छलफल कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै परिसंघको सुझावले वजेट तयारीमा थप सहयोग पुग्ने धारणा व्यक्त गरे । सो अवसरमा अर्थमन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, परिसंघका पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिल तथा राष्ट्रिय परिषदका सदस्यहरु समेतको उपस्थिति थियो ।
(for picutres please visit our Face Book Page)