गैह्र भन्सार अवरोधको कारण भारत निकासीमा समस्या

विद्यमान नेपाल भारत वाणिज्य सन्धिले नेपाली वस्तुको भारत निकासीमा भन्सार सहुलियतको व्यवस्था गरेको छ तापनि गैह्र भन्सार अवरोध (Non–tariff Barriers) का कारण कतिपय वस्तुहरुको भारत निकासीमा समस्या श्रृजना भएकोले यस प्रकारको अवरोध हटाउन सम्बन्धित निकायहरुले आवश्यक पहल गर्नु पर्ने आग्रह नेपाल उद्योग परिसंघले गरेको छ । उक्त आग्रह परिसंघले भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्याय सँग परिसंघमा श्रावण २६ गते भएको भेटवार्ताको अवसरमा गरेको हो । 
उक्त अवसरमा राजदुत उपाध्यायको स्वागत गर्दै परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले, नेपाल भारत बीचको ऐतिहासिक एवं महत्वपूर्ण आर्थिक सम्बन्ध बाबजुद पहिलेको तुलनामा अहिले एकातिर नेपालमा भारतको लगानी वृद्धि हुन सकेको छैन भने अर्कोतिर भारतमा अन्तशुल्क लगाएतका अन्य गैह्र करका कारण नेपाली उत्पादनले भारतको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था श्रृजना भएबाट दुई देश बीचको व्यापार घाटा झन बढ्ने हुँदा यस प्रकारका समस्यालाई समाधान गर्न दूतावासको माध्यमबाट समेत आवश्यक पहल र प्रयास होस भन्ने आग्रह राजदूतसँग गरेका छन् ।
उक्त अवसरमा राजदूत उपाध्यायले भारतले नेपाललाई सहयोग र दान भन्दा पनि उद्योग व्यापार विस्तारमा  सहयोग गर्नु पर्ने भएकोले यस तर्फ राजदुतावासको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।  सो अवसरमा राजदूत उपाध्यायले भारत नेपाललाई विजुली विक्री गर्न तयार रहेकोले  यस सम्बन्धमा सरकारको सम्बन्धित निकायसंग आफूले पनि कुरा गरि रहेको र निजी क्षेत्रबाट पनि विद्युत आपूर्तिको लागि यस कार्यमा आवश्यक पहल गर्न सुझाव दिए ।
सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष अनुज कुमार अग्रवाल, गभर्निङ्ग काउन्सिलका सदस्य चिरञ्जीलाल अग्रवाल, विजय शाह, शशीकान्त अग्रवाल, परराष्ट्र मन्त्रालयका सहसचिव हरि वडारी र महानिर्देशक मेघनाथ न्यौपाने सहभागी थिए ।