शान्ति सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर पर्ने कुनै पनि कार्य नगर्न परिसंघको अपिल

संविधान निमार्णको प्रकृया अन्तिम अवस्थामा पुगेको समयमा थरुहट प्रदेशको माग गर्दै भाद्र ७ गते कैलालीको टिकापुरमा भएको झडपमा विद्रोही समुहबाट एसएसपी सहित सात प्रहरी र एक नावालक समेत मारिएकोमा नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गर्दै यस प्रकारको हिंसात्मक र कायरतापूर्ण घटनाको निन्दा गरेको छ ।
यसै गरि सिमाङ्कनको विषयलाई लिएर रौतहट, सर्लाही लगायतका जिल्लाहरुमा व्याप्त असन्तोष र सम्भावित भिडन्तलाई दृष्टिगत गर्दै ति जिल्लाहरु समेत दंगाग्रस्त क्षेत्र घोषणा गरिएका छन् । यस प्रकारको वाद्यताले एकातिर मुलुकमा शान्ति, स्थायित्व र विकासमा खलल पर्न गई उद्योग व्यापार व्यवसाय सन्चालनमा थप असर पर्ने निश्चित छ भने अर्कोतिर विद्यमान सामाजिक, धार्मिक आस्था र शान्ति सद्भाव र राष्ट्रिय एकतामा समेत प्रतिकूल असर पर्न जाने भएकोले आजको यस गम्भिर अवस्थामा सरकार, सवै राजनीतिक दलहरु र असन्तुष्ट पक्षहरु समेतले संयमता अपनाई वार्ताको माध्यमबाट समस्या समाधानको बाटो खाजिनु पर्दछ भन्ने पनि परिसंघले आग्रह गरेको छ ।
विनासकारी भूकम्पको कारण नेपालको अर्थतन्त्र शिथिल अवस्थामा छ । तर यसै वीच भुकम्पको खाटा नसुक्दै सीमाङ्कन सहित अन्य विविध माग राख्दै मुलुकको विभिन्न भागमा भईरहेका लगातारका वन्द एवं हिंसात्मक घटनाले मुलुकलाई प्रति दिन अरवैंको घाटा संगै आम जनजीवनलाई कष्टकर र प्रतिकूल प्रभाव पार्नुका साथै उद्योग व्यवसायको क्षेत्रमा थप चिन्ता व्याप्त गराएकोले बन्द हडतालबाट मुलुकमा पर्ने नकारात्मक असरलाई समेत दृष्टिगत गरि बन्द, हडताल जस्ता विषयलाई बन्द गरि यस्को विकल्प खोजि गरि खाने वातावरण बनाउन पनि परिसंघले सम्बन्धित सवैमा अपिल गरेको छ ।