नयाँ संविधानले आर्थिक संभावनाको ढोका खोल्ने

संविधान सभाले “नेपालको संविधान २०७२” पारित गरेको छ । विगत लामो संघर्ष र प्रतिक्षा पछि नेपालीहरुले नयाँ संविधान पाउने भएका छन् । यस प्रकारको ऐतिहासिक निर्णयले अहिले सम्मको राजनीतिक अन्योल, अस्थिरता र संक्रमणको अन्त्य भई आर्थिक सम्भावनाको ढोका खोलेको र मुलुकमा व्यवसाय एवं लगानी मैत्री वातावरण कायम हुने विश्वास निजी क्षेत्रले लिएको छ ।

संविधानले निजी क्षेत्रका कतिपय भावना नसमेटे तापनि राजनीतिक सुनिश्चितता भई मुलुकमा स्थायी शान्ति कायम हुने र आर्थिक क्षेत्र, उद्योग व्यवसायले निश्चित प्राथमिकता पाउने विश्वास समेत नेपाल उद्योग परिसंघले लिएको छ ।

संविधानमा सवै क्षेत्र र समुदायले आफ्नो आकांक्षा र भावना प्रतिविम्वीत होस भन्ने चाहन्छन । त्यो अस्वाभाविक पनि होइन तापनि विशेषतः तराई क्षेत्रमा विरोधका स्वरहरु छन् । प्रमुख राजनीतिक दलका नेताहरुले राम्रो सुझवुझका साथ नयाँ संविधान निर्माणमा अत्यन्तै सह्रानीय योगदान, वुद्धिमत्तापूर्ण निर्णय र विवेक प्रयोग गर्दै योगदान गरेका छन् । आशा छ वाँकी असन्तुष्ट पक्षका कुराहरुलाई समेत आपसी संवाद र सहमतिमा प्रमुख दलहरुले संवोधन गर्ने छन् । सवै नेपालीबाट नेपालको संविधान २०७२ मा अपनत्व महशूस हुने आशा एवं विश्वास परिसंघले लिएको छ ।