अर्थतन्त्रमा गम्भिर समस्या : जनजीवन कष्टकर — नेपाल उद्योग परिसंघ

तराई क्षेत्रमा जारी अवरोध बन्द, र भारतबाट भएको अघोषित नाकाबन्दिले अहिले सम्पूर्ण नेपालीको जन–जीवन कष्टपूर्ण भएको छ । उद्योग व्यवसाय बन्द छन् र इन्धनको चरम अभावले धेरैको घरमा चुलोसमेत बल्न छाडेको हुँदा नेपालको अर्थतन्त्र गम्भिर समस्यामा परेको यथार्थतामा सरकारले आपूर्ति व्यवस्थाको लागि आफ्नो प्रभावकारी उपस्थिति सहित समस्या समाधान गरोस भन्ने माग नेपाल उद्योग परिसंघले गरेको छ ।

परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा कार्तिक १६ गते गएको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनसंगको भेटवार्ताको अवसरमा उक्त माग गरेको हो ।

भूकम्प पछिको पुनःनिर्माणले गति लिन नसकेको तथा तराईमा भएको आन्दोलन र भारतको अघोषित नाकाबन्दिबाट श्रृजीत समस्याले इन्धनको चरम अभाव हुन गएको र आपूर्ति व्यवस्था ठप्प प्रायः भएकोले आर्थिक क्षेत्र, उद्योग व्यवसाय जटिल भएकोले सरकारले आर्थिक एजेण्डालाई प्राथमिकता दिई उद्योग व्यवसाय सन्चालनको व्यवस्था सहित शान्ति सुरक्षाको सुनिश्चितता गरोस भन्दै अध्यक्ष बस्न्यातले वीरगंज स्थित सुख्खा बन्दरगाह (Dry Port) मा वाहिरबाट ल्याईएका हजारौ कन्टेनरहरु र त्यसमा रहेको माल बस्तुहरु महिनौ देखि सम्बन्धित स्थानमा लैजान नसकिएका कारण उद्योगी व्यवसायीहरुले माल बस्तुहरुमा तिर्नु पर्ने गोदाम भाडा, डिमरेज र विलम्ब शूल्क तथा कन्टेनर पार्किङ शूल्क लगायतको जरिवाना तिर्न सक्ने अवस्था नभएकोले यसमा लाग्ने विलम्ब शूल्क जरिवाना सम्पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था सहित कन्टेनरहरुलाई गन्तब्यमा पु¥याउन सरकारबाट आवश्यक पहल गरियोस भन्ने आग्रह गरे ।

उक्त अवसरमा मन्त्री पुनले अहिलेको प्रतिकूल परिस्थितिलाई समाधान गर्न र इन्धन लगायत अन्य बस्तुहरुको आपूर्ति सहज वनाउन सरकारबाट पहल भइरहेको उल्लेख गर्नुहुदै वर्तमान समस्याको कारण उद्योग व्यवसायमा परेको समस्या र यसको समाधानका लागि उच्चस्तरीय तहमा गम्भिर छलफल गरि रणनीति तय गरिने योजना रहेको कुरा व्यक्त गर्नु भयो ।

परिसंघबाट गएको प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष सतिष कुमार मोर, मनोज केडिया, गभर्निङ काउन्सीलका सदस्य विजय शाह र राष्ट्रिय परिषदका सदस्यहरु सम्मिलित थिए ।