आर्थिक पुनरुद्धार कोषः उद्योग व्यवसायलाई राहत पुग्ने विश्वास

गत वैशाख महिनामा गएको विनासकारी भूकम्प, चालू आर्थिक वर्षको प्रारम्भ देखिनै तराई मधेश क्षेत्रमा भईरहेको बन्द हड्ताल र असोज महिना देखि भएको अघोषित नाकाबन्दीका कारण मुलुकको उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्र विगत तीन दशक यताकै खराव भएको वर्तमान अवस्थालाई गम्भिरतापूर्वक लिई नेपाल सरकारले रु. १ खर्वको पुनरुद्घार कोष खडा गर्ने निर्णयको नेपाल उद्योग परिसंघ हार्दिक स्वागत गर्दछ ।

वर्तमान असहज अवस्थामा निजी क्षेत्रले भोगेका समस्या र यसको समाधानका सम्बन्धमा सरकारका तर्फबाट तत्काल राहत योजना ल्याउन नेपाल उद्योग परिसंघले यस अघि विभिन्न तहमा माग गर्दै आएको हो । यसै सन्दर्भमा सरकारको यो निर्णयबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन टेवा पुग्न गई स्थिति खराव हुनबाट बचाउन सहयोग पुग्ने विश्वास पनि परिसंघ (CNI) ले लिएको छ ।

यसका साथै तोकिएका उद्योग र व्यवसायलाई केहि व्याज अनुदान एवं सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने, न्युनतम विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत डिमाण्ड शुल्क छुट गर्ने, व्यपार सहजिकरण गर्ने, सिमा नाकामा भएको अवरोधले बढेको व्यावसायिक लागत न्यूनिकरण एवं व्यापार सहजीकरण गर्न सरकारबाट भएका प्रतिवद्धताको पनि परिसंघ सह्राहना गर्दछ ।

अतः सरकारबाट व्यक्त उपरोक्त प्रतिवद्धताका साथै उक्त कोषको परिचालनमा तदारुकता सहित सहजीकरण गरि निजी क्षेत्रलाई समेत साथमा लिई वर्तमान असहज परिस्थितिको शिघ्रातिशिघ्र समाधानका साथै छिटो प्रभावकारी कार्यान्वयनमा ल्याउन समेत परिसंघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।