मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा द्विक्षिय लगानी विस्तार बारे छलफल गरिने

सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा वलीको फागुन ७ गते देखि प्रारम्भ भएको मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा सम्मिलित हुन निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातको नेतृत्वमा ४ सदस्यीय औद्योगिक एवं व्यापारिक प्रतिनिधि मण्डल फागुन ९ गते नयाँ दिल्ली जाने भएको छ । परिसंघको तर्फबाट जाने सो प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ उर्जा विकास परिषदका सदस्य एवं एसोचेम (Associated Chambers of Commerce and Industry of India (ASSOCHAM) नेपाल च्याप्टरका सभापति निर्वाण चौधरी संलग्न छन् ।
परिसंघका प्रतिनिधि मण्डल भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेम (ASSOCHAM) ले आयोजना गर्ने कार्यक्रममा समेत सरिक हुनेछ । प्रधानमन्त्रीको दिल्ली भ्रमण र मुम्वई भ्रमणको औपचारिक साथै अन्य कार्यक्रममा समेत प्रतिनिधि मण्डल समेत सामेल हुनेछ ।
दिल्ली भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भारतका यातायात मन्त्रीका साथै भारतीय अर्थ, वाणिज्य, उर्जा मन्त्रीहरुसँग भेट वार्ता गर्नुका साथै द्विपक्षिय लगानी तथा औद्योगिक विकासका संभावना बारे छलफल गर्ने कार्यक्रम रहेको छ । मुम्वईंमा रहँदा भ्रमण दलले एसोचेमका (ASSOCHAM) पदाधिकारी संग द्विपक्षिय आर्थिक एवं औद्योगिक सम्बन्ध बिस्तारका बारेमा छलफल गर्नेछ ।