परिसंघबाट बेइजिङ्गमा स्वागत समारोहको आयोजना

प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणको दोस्रो दिन चैत्र ८ गते नेपाल उद्योग परिसंघले चिनिया उद्यमीहरुको साथै प्रधानमन्त्रीका साथमा रहेको सरकारी र निजी क्षेत्रका प्रतिनिधि मण्डलका सदस्यहरुको साथै चिनिया उद्यमीहरुको सम्मानमा बेइजिङ्गमा एक स्वागत समारोहको आयोजना गर्‍यो । नेपालमा संयुक्त लगानीमा स्थापित शिवम् सिमेन्टको लगानीकर्ता मध्यको चिनिया कम्पनी हङसी कम्पनी समेतको सह–आयोजनामा आयोजित उक्त समारोहमा प्रमुख चिनिया लगानी कर्ताको उपस्थिति थियो ।

नेपालमा वैदेशिक लगानीको लागि अनुकुल वातावरण भएको सन्देश चिनिया लगानीकर्तालाई दिन आयोजित उक्त स्वागत समारोहमा चिनिया लगानीकर्ताहरुले नेपालमा लगानी गर्न इच्छा प्रकट गरेको पाइएको र यसबाट नेपालमा थप लगानी आउन सक्ने विश्वास परिसंघले लिएको छ ।

यस अघि सोहि दिनमा नै चिनिया प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यहरुको सम्मानमा आयोजना गर्नु भएको दिवा भोजमा भ्रमण साथमा रहेको परिसंघका अध्यक्ष हरिभक्त शर्मा समेतको प्रतिनिधि मण्डल समेत सहभागि भएको थियो ।