नव नियुक्त कन्सुलहरुसँग भेटघाट

मित्रराष्ट्र भारतको कलकत्ता र चीनको ल्हासा र हङ्गकङ्गका लागि नियुक्त भएका कन्सुल जनरल क्रमशः एक नारायण अर्याल, गोविन्द कार्की र कमल भट्राइसँग नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच चैत्र १८ गते परिसंघको सचिवालयमा भेटवार्ता एवं छलफल भएको छ ।

नव नियुक्त कन्सुल जनरलहरुको स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले भारत र चीन बीच नेपालको घनिष्ठ सम्बन्ध सँगै उक्त मुलुकहरु सँगको उद्योग व्यवसाय विस्तारको सन्दर्भमा विशेषतः कलकत्ता, ल्हासा र हङ्गकङ्गजस्ता महत्वपूर्ण व्यापारिक नाकाहरुबाट नेपालमा हुने व्यापारमा नेपालका उद्योगी व्यवसायीहरुको चासो र अपेक्षा त्यतिकै महत्वको रहेको व्यहोरा उल्लेख गर्नुभयो ।

उक्त छलफलको क्रममा मूख्यतः कलकत्ता पोर्ट नेपालको आयात र निर्यातको प्रमुख नाका भएको तर त्यहाँ विभिन्न किसिमका प्रकृयागत एवं गैह्र प्रशासनिक अवरोधका कारण समय समयमा आयात एवं निर्यात कर्ताले ठूलो समस्या झेल्नु परेको हुँदा यसको समाधानमा कलकत्ता कन्सुलको पहल र सक्रियताको निजी क्षेत्रले सँदै अपेक्षा गरेको कुरा उक्त अवसरमा व्यक्त गरियो ।

साथै ल्हासा सँग हुने नेपालको व्यापारलाई राजनीतिबाट पर राख्नु पर्ने, हङ्गकङ्गमा केही वर्ष यता देखि नेपालीलाई आउन जानमा भिषाको समस्या मूख्य रुपमा रहेकोले सो विषयलाई सरल बनायन त्याहाँको कन्सुलर कार्यालयले विशेष पहल गर्नु पर्ने तथा नेपाल सम्बन्धीत क्षेत्र बीचको व्यापार लगानीलाई विस्तार गर्ने उद्देश्यका साथ सबै काउन्सिल जनरलको अफिसमा छुट्टै व्यवसाय कक्ष (Business Desk) स्थापना गर्ने व्यवस्था मिलाउनु पर्ने माग समेत उक्त छलफलमा व्यक्त भएको थियो ।

उक्त छलफलमा नव नियुक्त कन्सुल जनरलहरुले आ-आफ्नो क्षेत्रको पदभार समाल्नु अघि नेपालको निजी क्षेत्रका प्रतिनिधिहरु विशेषत परिसंघमा भएको यस छलफलबाट सम्बन्धीत क्षेत्रका विद्यमान समस्याका साथै आर्थिक कुटनीतिका सम्बन्धमा जानकारी लिन सहयोग पुगेको र यसबाट तोकिएको क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विस्वास व्यक्त गरेका थिए ।

उक्त छलफलमा परिसंघको तर्फबाट उपाध्यक्ष अनुज अग्रवाल, सतिष कुमार मोर, गभर्निङ काउन्सिलका सदस्यहरु शशिकान्त अग्रवाल, योगेश्वर लाल श्रेष्ठ, शिव रतन सारदा र राष्ट्रिय परिषदका सदस्यहरु रमेश गुप्ता, गुरु प्रसाद न्यौपाने र वर्षा श्रेष्ठ समेतको उपस्थिति थियो ।

alt

 

alt