तीन दिवसीय व्यवस्थापन विकास कार्यक्रम

औद्योगिक क्षेत्रको प्रवद्र्धनका अनुसन्धान, अन्वेषण र गुणस्तरको खाँचो: मन्त्री जोशी
उद्योगहरुको उत्पादकत्व, सञ्चालन दक्षता र क्षमता अभिवृद्धिका लागि एक्सिलेन्स सेन्टर स्थापना गरिएको होः अध्यक्ष शर्मा  

आर्थिक विकासको मेरुदण्ड औद्योगिकरण भएकोले निजी क्षेत्रको प्रवर्दनमार्फत औद्योगिक क्षेत्रमा लगानी विस्तारका लागि आवश्यक नीतिगत सुधार र जिल्लातहसम्म औद्योगिक वातावरण तयार गर्न सरकार गम्भीर ढंगले क्रियाशील रहेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । नेपाल उद्योग परिसघ स्थापित “सेन्टर फर इण्डष्ट्रियल एक्सिलेन्स” (CNI-CIE) द्वारा असोज ७ देखि ९ गतेसम्म आयोजित तीन दिवसीय व्यवस्थापन विकास कार्यक्रम (Management Development Program-MDP) को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले उक्त कुरा बताएका हुन ।
“ब्राण्डिङ्ग एण्ड इन्टिग्रेटेड मार्केटिङ्ग कम्युनिकेशन” (Branding and Integrated Marketing Communications) विषयक सो कार्यक्रममा मन्त्री जोशीले उदार अर्थतन्त्रमा सरकारले मूलत नीति निर्माता र सहजकर्ताको भूमिका निवाह गर्ने भएकाले नीजि क्षेत्रको पहलमा नै औद्योगिक विकास, उत्पादकत्व अभिवृद्धि, सञ्चालन दक्षता वृद्धिमार्फत उच्चदरको आर्थिक प्रगती (Major Departure) हासिल गर्न नयाँ सोचका साथ अघि बढ्नुको विकल्प नरहेको मन्त्रीको भनाई थियो । ‘त्यसका लागि सार्वजनिक निजी साझेदारी (PPP) को मान्यता अनुरुप निजी क्षेत्रसँग समन्वय गरी अघि बढ्न सरकार तयार छ,’ मन्त्रीले भने । नेपाल उद्योग परिसंघले CNI-Industrial Center of Excellence (CNI-CIE) मार्फत नेपाली उद्योग प्रतिष्ठानमा कार्यरत मानव संसाधन (कर्मचारी) को क्षमता र दक्षता अभिवृद्धिका लागि लिएको पहल कदमी सह्रानीय छ । परिसंघको यस प्रयास समग्र उद्योग प्रतिष्ठानको उत्पादकत्व तथा दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा लिएको मन्त्रीको भनाई थियो । मुलुकको औद्योगिक क्षेत्रको छाता संगठन परिसंघले आगामी दिनमा पनि उद्योग व्यवसायको प्रवद्र्धनका साथै मानव संशाधनको क्षमता विकासमा थप योगदान पुर्‍याउँदै जाने विश्वास मन्त्रीले व्यक्त गरे ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक विकासका लागि निरन्तर तालिम, अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता भएकाले सो आवश्यकतालाई पूरा गर्न नेपाल उद्योग परिसंघले “सेन्टर फर इण्डष्ट्रियल एक्सिलेन्स” गठन गरी कार्य प्रारम्भ गरेको बताए । यसको प्रवर्दन र विकासको लागि सरकारले पनि आर्थिक, भौतिक र नीतिगत सहयोग गर्नु पर्ने अध्यक्ष शर्माले बताए ।
भारतका स्थापित विशेषज्ञहरु मानुश सेनगुप्ता र प्राध्यापक उज्वल चौधरी स्रोत ब्यक्ती रहेको प्रशिक्षण कार्यक्रममा नेपाली आर्थिक क्षेत्रमा क्रियाशील रहेका विभिन्न बैँक, उद्योग, सेवा व्यवसाय, पर्यटन, अटोमोवाइल्स, औषधी, बीमा व्यवसाय र व्यापारिक प्रतिष्ठानमा कार्यरत ५२ जना व्यवस्थापक र कार्यकारीतहका जनशक्तिहरुको सहभागिता रहेको थियो । सैद्धान्तिक, व्यवहारिक, प्रयोगात्मक र केश स्टडीजस्ता माध्यमबाट होटल समिट, सानेपामा सञ्चालित सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी सम्पूर्ण पक्षलाई “सेन्टर फर इण्डष्ट्रियल एक्सिलेन्स” का संयोजक अनलराज भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

alt

 

alt