औद्योगिक व्यवसाय ऐनले लगानीकर्ताको मनोबल वृद्धि

करिब २५ वर्षपछि व्यवस्थापिका संसदबाट नयाँ औद्योगिक व्यवसाय ऐन पारित भएको छ । मुलुकको आर्थिक उन्नती र आम नागरिकको जिविकोपार्जनका लागि अपरिहार्य उद्योग तथा व्यवशायको स्थापना, सञ्चालन र आवश्यकता अनुसार वहिर्गमनलाई सहज र सरलिकरणका कानुनी आधार तय गर्ने यस ऐनले निजी क्षेत्रमा नयाँ सञ्चार र उत्साह पैदा गराएको नेपाल उद्योग परिसंघले महशूस गरेको छ । यसबाट उद्योग र लगानीका क्षेत्रमा सकारात्मक सन्देश गएको र मुलुकको आर्थिक विकासको लागि व्यवसायिक वातावरण (doing business environment) मा सुधारको थालनी भएको विश्वास पनि परिसंघले लिएको छ ।
मुलुकमा थप लगानी आकर्षित गर्दै औद्योगिक विकासलाई तिब्रता दिन आर्थिक स्वतन्त्रता र लगानी सुरक्षाको सुनिश्चितता सहितको लगानी मैत्री वातावरण अत्यावश्यक शर्त हो । त्यसका लागि नीतिगत र कानुनी व्यवस्था आवश्यक छ भने कानुनको प्रभावकारी कार्यान्वयन तथा नीतिगत स्थायित्व अर्को महत्वपूर्ण पक्ष हो । प्रचलित कानुनको अधिनमा रही आफुले चाहेको व्यवसायमा सहज रुपमा प्रवेश गर्ने, निर्वाध व्यवसाय सञ्चालन गर्ने र चाहेको समयमा सहज रुपमा निस्कन पाउने सबै लगानीकर्ताको अधिकार हो ।
यस सत्यलाई हालै व्यवस्थापिका संसदबाट पारित औद्योगिक व्यवसाय ऐनले आत्मसाथ गरेको परिसंघको बुझाई छ । ऐनले नयाँ उद्योगमा लगानी आकर्षित गर्न आयकर छुट लगायतका विभिन्न प्रोत्साहनमुलक व्यवस्था गरेको छ भने स्थापित उद्योगहरुको निर्वाध सञ्चालनका लागि उद्योगको राष्ट्रियकरण नगर्ने, बन्द हडताल निषेध गर्ने र औद्योगिक श्रम संवन्ध सुमधुर राख्नका लागि रोजगारदाता र श्रमिकको संयुक्त स्थायी संयन्त्र स्थापना जस्ता व्यवस्था गरेको छ । साथै ऐनले अङगिकार गरेको ‘नो वर्क नो पे’ को सिद्धान्तले औद्योगिक क्षेत्रमा आन्दोलन (बन्द हडताल) न्यूनिकरण गर्न र उत्पादकत्व अभिवृद्धि गर्नमा सबै सरोकारवालाहरुलाई प्रोत्साहित गर्छ भन्ने परिसंघको विश्वास छ । त्यसैले नेपाल उद्योग परिसंघले यस ऐनको स्वागत मात्रै गर्दैन ऐनको यथाशिघ्र कार्यान्वयनका लागि तत्काल नियमावली बनाएर व्यवहारिक रुपमा नै लागु गर्न सरकारको ध्यानाकर्षण समेत गर्दछ । परिसंघले विभिन्न समयमा र ऐन तर्जुमाको चरणमा समेत प्रस्ताव गरेका विभिन्न सुझावमध्ये अधिकांश यस ऐनमा समावेश भएकोमा परिसंघ नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दै यसमा समावेश हुन नसकेका तर, औद्योगिक विकासका लागि आवश्यक सुझावहरु क्रमशः सम्वोधन हुँदै जानेछन् भन्ने अपेक्षा गर्दछ ।