“परिसंघ प्रबुद्ध परिषद” (CNI Thank Tank) को गठन

नेपालको उत्पादनमूलक तथा सेवा क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ (CNI) ले मंगलवार (कार्तिक ९ गते २०७३) एक समारोहकाबीच ‘परिसंघ प्रबुद्ध परिषद्’ (CNI Thank Tank) को गठन सहित सोको शुभारम्भ गरेको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त परिषदको समुद्घाटन एवम् घोषणा गरिएको हो ।
परिसंघ प्रबुद्ध परिषदको समुद्घाटन कार्यक्रमलाई संबोधन गर्दै परिसंघ अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासको गतीलाई तिब्रता दिन उपयुक्त नीति निर्माण, पैरवी तथा सरकार र निजी क्षेत्र वीच विश्वासको वातावरण निर्माणमा यस परिषदबाट परिसंघलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
औद्योगिक एवं व्यावसायिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, दक्ष व्यवस्थापन, लगानी सुरक्षा तथा रोजगारी अभिवृद्धिमा टेवा पुर्‍याउने लक्ष्य सहित परिसंघले आफ्ना गतिविधिहरु सन्चालन गर्दै आएको विदितै छ ।  यसै शिलशीलामा नेपाल उद्योग परिसंघलाई थप शसक्तिकरण गर्दै मुलुकको बदलिदो राजनीतिक, आर्थिक एवम् औद्योगिक यथार्थतामा नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरणको भरपर्दो आधारशीला निर्माण गर्न समसामयिक एवम् नवीन सोच र दृष्टिकोणको केन्द्र विन्दु बनाउन सकियोस भन्ने उद्देश्यअनुरुप मुलुकका प्रशासनविद, अर्थविद, योजनाविद, आर्थिक कूटनीतिज्ञ, सुरक्षाविद र प्राज्ञिक क्षेत्रमा दिग्गज व्यक्तीत्व सम्मिलित ‘परिसंघ प्रबुद्ध परिषद’ (CNI Thank Tank) गठन गरिएको हो ।
संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्ब स्थायी प्रतिनिधि/राजदूत एवं आर्थिक कुटनीतिज्ञ प्रा.डा. शम्भुराम सिम्खडाको संयोजकत्वमा गठन गरिएको उक्त प्रबुद्ध परिषदका अन्य सदस्यहरुमा श्री शंकरप्रसाद कोइराला, श्री उमाकान्त झा, डा. शंकरप्रसाद शर्मा, प्रा. डा. गोविन्द राज पोखरेल, डा. बिन्दु लोहनी, श्री पुरुषोत्तम ओझा, श्री कृष्ण ज्ञवाली, श्री किशोर थापा, श्री सुरेशमान श्रेष्ठ, प्रा. डा. सुवास के.सी., श्री हिमालय थापा, डा. गोविन्द प्रसाद थापा, प्रा.डा. मीना वैद्य मल्ल र डा. विश्व पौडेल रहनु भएको छ ।
आ–आफ्नो क्षेत्रको नेतृत्वदायी तहमा रहेर मुलुकको आर्थिक, सामाजिक, प्राविधिक, सुरक्षा, कूटनीतिक, प्रशासनिक र व्यवस्थापकीय तहमा लामो अनुभव र विज्ञता हासिल गर्नु भएका व्यक्तित्वहरु सम्मिलित प्रवुद्ध परिषद् (Think Tank) गठन गर्नुको मूल उद्देश्य निम्नानुसार रहेका छन् ।

- दशकौदेखि गैरआर्थिक कारणले गर्दा गरिवी, अभाव, न्यून लगानी, सुस्त आर्थिक वृद्धिदर, व्यापार घाटा र बेरोजगारीबाट आक्रन्त मुलुकमा अव राजनीतिले होइन कि आर्थिक एजेण्डा (Economy Frist) भन्ने अवधारणालाई स्थापित गर्नु ।

- सरकार र निजी क्षेत्रका बीच कतिपय नीतिगत विषयमा फरक–फरक मान्यताहरु हुन सक्छन् । जुन स्वभाविक पनि हो । यस्तो स्थितिमा सही नीतिको तर्जुमा गर्न सरकारसमक्ष प्रवुद्ध वर्गको तर्फबाट तटस्थ तर व्यवसायिक सुझाव उपलब्ध गराउनु ।

- विभिन्न क्षेत्रगत नीति तर्जुमा गर्दा वा भइरहेका नीतिहरुको परिमार्जन गर्दा प्रवुद्ध वर्गको राय, सुझाव र दृष्टिकोण सरकारलाई उपलब्ध गराउनु र निरन्तर पैरबी गर्नु ।

- सरकार, नेपाल उद्योग परिसंघ, प्रवुद्ध वर्ग, कूटनीतिक क्षेत्र, निजी क्षेत्र, विकास साझेदार, लगानीकर्ता र मिडियाबीच समन्वय गरी आर्थिक विकासको साझा गन्तव्यमा अघि बढ्ने वातावरण सृजनाका लागि समन्वय र सहजिकरण गर्नु ।

- मुलुकको समग्र विकासका लागि परिसंघले विगतमा (नियमित ढंगले) गर्दै आएको Policy Lobbing, Advocacy, सुशासन बहाली जस्ता सृजनात्मक कार्यलाई प्रवुद्ध परिषद् (Think Tank) को तथ्यमा आधारित राय र तर्कसंगत ढंगले अघि बढाउनु ।

- परिसंघका गतिविधि, अर्थ व्यवस्थाको समसामयिक प्रकृति र उद्योग व्यवसायका एजेण्डालाई सरकार, विकास साझेदार एवं नीति निर्माण तहका उच्च निकायहरुसमक्ष पुर्‍याउनु र आ–आफ्नो तहबाट यथासक्य पैरवी गर्नु ।

आर्थिक विकास वा राष्ट्र निर्माणको विषय मुलुकका सबै तह, क्षेत्र र समुदायको साझा प्रयासबाट मात्र हासिल हुन सक्छ । यसका लागि एकातिर मुलुकमा ठूलो परिमाणमा लगानी वृद्धि गर्नु जरुरी छ भने अर्कातिर सही र यथार्थपरक नीतिहरु तर्जुमा गरी त्यसलाई व्यवहारिक रुपले कार्यान्वयन गर्दै जानु अहिलेको आवश्यकता हो । यही यथार्थतामा लगानी मैत्री वातावरण श्रृजना गर्दै उच्च, फराकिलो तथा दीगो आर्थिक वृद्धिमार्फत अर्थतन्त्रलाई गतिशील पार्नका लागि परिसंघ प्रबुद्ध परिषद (CNI Think Tank) ले आगामी दिनहरुमा परिसंघमार्फत सरकारमा उपयुक्त दृष्टिकोण, नीतिगत विश्लेषण र पैरवी गर्ने छ ।

alt