ब्रिक्स राजदुत र “परिसंघ प्रबुद्ध परिषद” (CNI Think Tank) विच अन्तरक्रिया

-ब्रिक्स विकास बैंक (NDB) ले नेपालमा लगानी विस्तार गर्ने वातावरण बनाउन आग्रह
 
परिसंघ प्रबुद्ध परिषद्का सदस्यहरुले नयाँ विकास बैंक (NDB) को नामले परिचित ब्रिक्स विकास बैंकले नेपाल जस्ता अल्पविकसित देशको पूर्वाधार विकासका क्षेत्रमा लगानी विस्तार गर्ने गरि संयन्त्र विकास गर्नु पर्ने बताएका छन् । नेपालका लागि ब्रिक्स (BRICS) समूहका सदस्य देशका राजदुत र नेपाल उद्योग परिसंघको बौद्धिक समूह ‘परिसंघ प्रबुद्ध परिषद्’ (CNI-Think Tank) विच मंगलवार भएको अन्तरक्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन । परिसंघले हालै गठन गरेको प्रबुद्ध समूहले नेपालमा आर्थिक विकासका एजेण्डालाई केन्द्र विन्दुमा राखेर राजनीतिक तथा कुटनीतिक क्षेत्रमा पैरवी गर्ने उद्देश्यस्वरुप उक्त अन्तरक्रिया आयोजना गरेको हो ।
अन्तरक्रिया राजनीतिक संक्रमणका वावजुत औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासको गतीलाई तिब्रता दिन सफल ब्रिक्स देशहरुबाट नेपालले सिक्न सक्ने असल अभ्यास तथा अनुभवका विषयमा केन्द्रीत थियो । ‘ब्रिक्स देशको सफलताबाट पाठ सिकेर उपयुक्त नीति निर्माणका लागि बहस/पैरवी तथा सरकार र निजी क्षेत्र वीच विश्वासको वातावरण निर्माणमा अन्तरक्रियाबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने ।
नेपाल जस्ता अल्पविकसित देशहरुको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, दक्ष व्यवस्थापन, लगानी सुरक्षा तथा रोजगारी अभिवृद्धिमा टेवा पुर्‍याउन ब्रिक्सलाई थप समावेसी बनाउँदै ब्रिक्स विकास बैंकले यस्ता देशमा लागनी गर्न सक्ने वातावरण निर्माणमा महामहिम राजदुतहरुले सहयोग गर्नु पर्ने परिसंघ प्रबुद्ध परिसदका संयोजक प्राडा. शम्भुराम सिंखडाले बताए । ‘परिसंघमार्फत नेपालको निजी क्षेत्रलाई थप शसक्तिकरण गर्दै मुलुकको बदलिदो राजनीतिक, आर्थिक एवम् औद्योगिक परिवेशमा नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरणको भरपर्दो आधारशीला निर्माण गर्न छिमेकी देश तथा दातृ राष्ट्रहरुको विकास अनुभव, लगानी, प्राविधिक सहयोग उपयोगी हुन सक्छ,’ सिंखडाले भने ।
ब्रिक्सलाई थप समावेशी बनाउन सरकार, निजी क्षेत्र तथा प्रबुद्ध समूहविच आपसी सहकार्य गर्न र विकासका लागि आवश्यक लगानी तथा अनुभव आदानप्रदान गर्न समयानुकुल र सबैलाई लाभदायक हुनेगरि एक स्वतन्त्र संयन्त्र निर्माण गरेर अघि बढ्न सकिने नेपालका लागि भारतीय राजदुत रणजीत रेयको भनाई थियो ।
सो कार्यक्रममा भारतका साथै नेपालका लागि रुस र ब्राजिलका महामहिम राजदुतहरु क्रमशः एन्ड्राई एस. बुडनिक (Mr. Andrei S. Budnik) र मारिया टेरेसा मेसक्विटा पेसो (Ms. Maria Teresa Mesquita Pessoa) का साथै परिसंघका पदाधिकारी र परिसंघ प्रबुद्ध परिषदका सदस्य एवं परिसंघ आवद्ध उद्योगीहरुको समेत उपस्थिती थियो ।

alt

alt