परिसंघमा परिचर्चा–४

सरकार र निजी क्षेत्रको बीचमा समन्वय र सहकार्य बढाउँदै आर्थिक क्रियाकलापहरुलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने उद्देश्य सहित नेपाल उद्योग परिसंघले प्रारम्भ गरेको “परिसंघमा परिचर्चा”को चौथो संस्करण शुक्रबार सम्पन्न भयो । चौथो संस्करणको छलफलको विषय “औद्योगिक व्यवसायिक ऐन, २०७३ र औद्योगिकरणमा यसको प्रभाव” रहेको थियो ।
छलफलको थालनी गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक र औद्योगिक ऐेनमा प्राविधिक पक्ष धेरै भएको हुदाँ सम्बन्धित क्षेत्रका विज्ञहरुबाट विषयवस्तुुमाथि गहन छलफल गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको बताउनु भयो । सो अवसरमा अध्यक्ष शर्माले औद्योगिक व्यवसाय ऐन पारित भई व्यवहारमा लागु भएपनि  औद्योगिक व्यवसाय नियमावली र विनियमावलीको तर्जुमा गर्नका लागि छलफलबाट निस्किएका सुझावले सरकारलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उद्योग मन्त्रालयका सहसचिव ऋषिराज कोइराला र बरिष्ठ चार्टड एकाउन्टेन्ट लुम्बध्वज महत मुख्य वक्ता रहनु भएको सो कार्यक्रममा परिसंघ अन्तगर्तका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । परिचर्चा कार्यक्रममा हालै जारी भएको औद्योगिक व्यवस्था ऐन, २०७३ का सबल र दुर्बल पक्ष, ऐनमा अन्तरनिहीत कानूनी व्यवस्थाका शिथिलता र विनियामली तर्जुमा गर्दा ध्यान दिनु पर्ने बुदाँका बारेमा व्यवहारिक ढंगबाट सूक्ष्म विश्लेषण गरिएको थियो ।
छलफलको क्रममा सहभागीहरुबाट राखिएका जिज्ञासामा सहसचिव कोइराला र चार्टड एकाउन्टेन्ट महतले समीक्षामार्फत टिप्पणी गर्नु भएको थियो ।

alt