उद्योगको सुरक्षा एवं हुन गएको नोक्सानीको क्षतिपूर्तिको व्यवस्था होस

नेपाल सरकारले मुलुकको शान्ति सुरक्षाको लागि अवलम्बन गरेको नीति अनुसार केही समयदेखि उद्योग व्यवसायले पनि आफ्नो सुरक्षाको राम्रो अनुभूति गरेको छ । यो वस्तुस्थितिको वावजुद हाल केही उद्योग प्रतिष्ठानमा शान्ति सुरक्षाको प्रश्न उठेको र असुरक्षाका घटना हुन गएको जानकारी प्रति परिसंघको ध्यानाकर्षण भएको छ ।
यसै सन्दर्भमा परिसंघको सदस्य एवं नेपालको प्रमुख सिमेन्ट उद्योग मध्येको एक मकवानपुरमा सञ्चालित ‘शिवम् सिमेन्ट लिमिटेड’ को चुनढुङ्गा खानीमा प्रयोगमा ल्याइएको ५ (पाँच) थान एक्साभेटरमा यही बैशाख २१ गते राती अज्ञात समूहले आगजनी गरी ठूलो क्षति (करिव रु. पाँच करोड) पुर्‍याएकोले यसबाट धनमालको क्षति साथै उद्योगको समेत सुरक्षाको प्रश्न उठेको छ ।
लगानी प्रवद्र्धन गर्ने र विदेशी लगानी भित्र्याउने सरकारको प्रमुख नीति भएको र यस कार्यमा निजी क्षेत्रको प्रतिनिधि संस्थाको हैसियतले परिसंघ (CNI) बाट निरन्तर सहयोगको प्रयास भइरहेको पृष्ठभूमिमा उद्योग व्यवसायमा भएका यस प्रकारका हमला एवं पुग्न गएको क्षतिको कारण उद्योग व्यवसायको सुरक्षा प्रश्न टड्कारो रुपमा उठेको छ । यस्ता घटना क्रमले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुमा समेत प्रतिकूल सन्देश फैलने भएकोले यस प्रकारका अवान्छित गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान सहित उनीहरुलाई उचित कारवाही गर्न र उद्योगमा पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति सहित कामदार/कर्मचारी एवं उद्योग प्रतिष्ठानको सुरक्षाको पूर्ण प्रत्याभूति सरकारबाट गर्ने व्यवस्था मिलाइ पाउन सम्बन्धित निकायको परिसंघ ध्यानाकर्षण गर्न चाहान्छ ।