दीगो आर्थिक वृद्धिका लागि औद्योगिकरणको आवश्यकता

सरकारको आर्थिक सल्लाहकारको नाताले आ. व. २०७४/७५ को वजेटका लागि आवश्यक सुझाव संकलन गर्न नेपाल राष्ट्र बैँकले सोमबार पूर्व वजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो । गभर्नर डा. चिरञ्जीवि नेपालको अध्यक्षतामा होटल याक एण्ड यतिमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सरकारी निकाय, उद्यमी, व्यापारी, उपभोक्ताकर्मी, निजी क्षेत्र, आर्थिक पत्रकार, बैँकर तथा अर्थविद्हरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अर्थव्यवस्थाका वर्तमान चुनौतिहरुको विश्लेषण गर्दै आगामी वजेटले उद्योग र सेवा क्षेत्रको विकासका लागि अवलम्बन गर्नु पर्ने नीतिगत सुझाव प्रस्तुत गर्नु भयो । औद्योगिक विकासका लागि वजेटले पूर्वाधार निर्माणमा जोड दिनु पर्ने, सरकारले समयवद्ध रुपमा पूँजीगत खर्च गर्नु पर्ने, उद्योग सञ्चालन र विस्तारको लागि भूमिको हदवन्दीमा पुनरावलोकन गर्नु पर्ने तथा सरकारले लगानीमैत्री वातावरण सृजना गरी कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको हिस्सा बढाउन दीर्घकालीन रणनीति अवलम्बन गर्नु पर्ने सुझावहरु अध्यक्ष शर्माले विश्लेषणात्मक रुपमा प्रस्तुत गर्नु भयो । आफ्ना धारणा राख्दै अध्यक्ष शर्माले कृषिको आधुनिकिकरण गर्न, बढ्दो व्यापार घाटा न्यून गर्न, विदेश पलायन हुने श्रम शक्तिलाई देशभित्रै रोजगारी उपलब्ध गराउन एवं रेमिटान्सको न्यून आप्रवाहबाट अर्थतन्त्रमा सृजित जोखिम न्यूनिकरण गर्दै दीगो, उच्च, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्न पनि औद्योगिककरणलाई तीव्रता दिनु आजको आवश्यकता हो भन्ने तथ्यमाथि प्रकाश पार्नु भयो ।
सो अवसरमा अध्यक्ष शर्माले मुलुकको समष्ठिगत आर्थिक विकासका लागि आगामी आर्थिक वर्षको वजेटले कन्स्ट्रक्शन फण्ड र जलवायु परिवर्तन नियन्त्रण फण्ड स्थापना गर्नुका साथै मुलुकभित्र उपलब्ध स्रोतसाधनलाई म्यानुफ्याक्चरिङ्ग क्षेत्रमा केन्द्रीत गरी सार्क क्षत्रकै महंगो शहर काठमाण्डौका जनताको जीवनस्तरमा सुधार गर्न कार्यान्वयनमुखी नीति ल्याउनु पर्दछ भन्नु भयो ।