परिसंघ र भारतीय राजदूतबीच अन्तरक्रिया

नेपालका लागि भारतका महामहिम राजदूत मन्जिभ सिंह पुरीको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरी बुधबार नेपाल उद्योग परिसंघले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप मजबूत बनाउन अन्तरक्रिया गर्‍यो ।
परिसंघको सचिवालमा आयोजित सो कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले राजदूत पुरीको स्वागत गर्दै नेपालको आर्थिक विकासका लागि उहाँको कार्यकाल सफल हुन सकोस भनी शुभेच्छा व्यक्त गर्दै भन्नु भयो, “नेपाल र भारत भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक र जनस्तरबाट पनि अत्यन्त निकटका मित्र हुन । त्यसैले विश्व रंगमञ्चकै उदीयमान अर्थतन्त्रको नाताले नेपालको आर्थिक विकासमा भारतले थप सहयोग गर्नु पर्दछ ।” आफ्नो धारणलाई प्रष्ट्याउँदै अध्यक्ष शर्माले भन्नु भयो, “नेपालबाट भारततर्फ हुने निर्यातमा निहित गैरभन्सार अवरोधलाई घटाउने, भारतीय उद्यमीहरुलाई नेपालमा लगानी गर्न सहजीकरण गर्ने तथा सीमा नाकामा सृजना हुने चेक–जाँचलाई छिटो छरिता पार्नेजस्ता कामबाट पनि वर्तमान सन्दर्भमा दुई देशबीचको आर्थिक सम्बन्धलाई गतिशील पार्न सकिन्छ ।” भारतबाट आउने बल्क कार्गो रक्सौल बाहेक अन्य नाकाबाट पनि आयात गर्ने अवश्यक व्यवस्थाको कुटनीतिक पहल गर्नु पर्ने सन्दर्भमा पनि अध्यक्ष शर्माले राजदूत महोदयलाई जानकारी गराउनु भयो । 
त्यसैगरी परिसंघका प्रेसिडेन्ट एमिरेट्स बिनोद चौधरीले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई अझ विकसित गर्नका लागि दुई सरकारबीचमा मात्र होइन भारतीय सरकार र नेपालको निजी क्षेत्रको बीचमा नौलो ढंगले सहकार्य गर्ने तौरतरिका तय हुनुपर्ने, सन् १९९६ को द्विपक्षीय व्यापार सन्धीको मर्म अनुसार नेपाली सामानहरु निर्वाध ढंगले भारतीय बजारमा प्रवेश पाउनु पर्ने तथा नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा भारतले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । भारतीय लगानीका बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा विगत वर्षहरुमा आकर्षक मुनाफा आर्जन गरी बैदेशिक लगानीको लागि नेपालमा अनुकूल वातावरण रहेको पुस्ट्याइँ गरेको बताए । नेपालमा जलस्रोत, पर्यटन, होटल, खनिज उत्खनन, कृषि र सेवा क्षेत्रमा भारतीय उद्यमीको लगानी विस्तार गर्न सके दुबै देशको अर्थतन्त्र लाभान्वित हुने विश्लेषण गर्दै अध्यक्ष एमिरेट्स चौधरीले राजदूत पुरीको कार्यकालमा यस सम्बन्धमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्य र राष्ट्रिय परिषद्का सदस्यहरुको उपस्थिति रहेको थियो । अध्यक्ष शर्माले नेपालको निजी क्षेत्र र परिसंघको तर्फबाट आधिकारिक धारणा राखेपश्चात् कार्यक्रममा उपस्थित उद्यमी व्यवसायीहरुले राजदूत पुरी समक्ष नेपाल–भारतबीचको आर्थिक सम्बन्धलाई सबल पार्न विभिन्न सुझावहरु प्रस्तुत गरेको थिए । साथै, तत्कालीन रुपमा नेपालको निजी क्षेत्रले भोगिरहेको समस्याहरु औल्याउँदै त्यसको समाधानको लागि राजदूत पुरीको ध्यानकर्षण गराएका थिए ।
सहभागीहरुको जिज्ञाशा र सुझाव सुनेपछि प्रमुख अतिथिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत पुरीले नेपाल र भारतबीचको ऐतिहासिक एवं आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन प्राप्त सुझावहरुको थप विश्लेषण गरी क्रमशः कार्यान्वयन गर्दै लगिने आश्वासन दिदै यसमा निजी क्षेत्रको समेत सहयोग रहने अपेक्षा गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा धन्यवाद् मन्तव्य राख्दै परिसंघका उपाध्यक्ष अनुजकुमार अग्रवालले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सूक्ष्मरुपमा बुझ्न सहयोग पुर्‍याएकोले आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नु भयो ।
 
alt
 
alt