बाढी–पहिरो पिडित राहतका लागि रु. ५० लाखको सामग्री उपलब्ध गराउने निर्णय

केही दिन यता देखिको अविरल वर्षको कारण मुलुकका विभिन्न भागमा गएको भिषण बाढी र पहिरोबाट ठूलो जन धनको क्षति भएकोमा नेपाल उद्योग परिसंघले गहिरो दुःख र अकल्पनिय र कहालि लाग्दो परिस्थितिबाट ज्यान गुमाएकाहरु प्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
परिसंघको पदाधिकारी समितिको श्रावण ३० गते बसेको आकस्मीक बैठकले यस दुःखद स्थितिमा बाढी पहिरोमा परि विस्थापितहरुको राहतको लागि परिसंघद्वारा प्रथम चरणमा रु ५० लाखको राहत कोष स्थापना गरी उक्त कोषबाट सोही रकम बराबरको आवश्यक खाद्यान्न, औषधी एवं आपातकालिन  (Emergency) सामान प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र वाणिज्य मन्त्रालय सँग समन्वय गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
साथै यस राहत कार्यको लागि प्रभावकारी रुपमा समन्वय एवं थप रकम संकलन गर्न परिसंघका वरिष्ठ उपाध्यक्ष सतिष कुमार मोरको संयोजकत्वमा “बाढी, पहिरो पिडित राहत कार्यदल” समेत गठन गरेको छ । वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेत सल्लाहकारमा हुनुभएको उक्त बैठकले विपत्तिमा परेका जनताको सहयोगार्थ एन आइ सी एसिया बैँक लि. मा नेपाल उद्योग परिसंघको नामको चल्ती खाता सञ्चालनमा ल्याउने निर्णय सहित एन आइ सी एसिया बैँक लि., थापाथलीमा खोलिएको ५४४४३०४०११५२४००२ खातामा आ–आफ्नो तर्फबाट नगद सहयोग गर्न समेत आफ्नो सदस्य संस्था लगायत सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।