विद्युत महशूल वृद्धि नगर्न परिसंघको माग; ऊर्जा मन्त्री सकारात्मक

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले भाद्र १५ गते ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विद्युत महशूल वृद्धि गर्ने सम्बन्धमा विद्युत महशूल निर्धारण आयोगले सार्वजनिक गरेको विद्युत महशूल वृद्धिको प्रस्ताव तत्काल रोकि पाउन अनुरोध गरेको छ । परिसंघले आफ्नो मागमा भनेको छ विद्युत महशूल वृद्धिको प्रस्ताव कार्यान्व्यनमा आएको खण्डमा औद्योगिक लागतमा वृद्धि हुने र प्रतिस्पर्धी क्षमतामा समेत ह्रास आई उद्योगहरु थप संकटमा पर्ने भएकोले उक्त प्रस्ताव कार्यान्वयन नगर्न जोडदार माग गरेको छ ।
सो भेटघाटको अवसरमा ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले परिसंघको यस प्रस्तावलाई गम्भिरतापूर्वक लिइ उद्योग धन्दामा तत्काल विद्युत महशूल नबढाउने र उद्योगीहरुलाई कुनै अप्ठेरोमा नपार्ने आश्वसन समेत दिनुभएको छ ।
सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष सतिष कुमार मोर, उपाध्यक्ष राजेश अग्रवाल लगायत वरिष्ठ प्रतिनिधिहरु सम्मिलित हुनुभएको थियो ।