परिसंघ–सेजन (SEJON) बीच छलफलः

२४ वर्षको अन्तरालपछि मुलुकमा नदेखेको विकास
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा नेपाल उद्योग परिसंघले सोमबार स्वागत कार्यक्रम आयोजना गरी अन्तरक्रियात्मक छलफल समेत गर्‍यो । परिसंघको सचिवालयमा आयोजित सो कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै परिसंघका अध्यक्ष हरिभक्त शर्माले, “नेपालको संविधान, २०७२ क्रमशः कार्यान्वयनमा आइरहेको हुँदा अब मुलुकको आर्थिक समृद्धिकै लागि नेपाल उद्योग परिसंघ र सेजनले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सृजनात्मक ढंगले अघि बढ्नु पर्दछ” भन्नुभयो । आफ्नो धारणा राख्दै अध्यक्ष शर्माले मुलुकमा औद्योगिक वातावरण सृजना गर्न, उत्पादनशील लगानी प्रवद्र्धन गर्न तथा आर्थिक सुधारको कार्यक्रमलाई अघि बढाउन तथ्याङ्क र अनुसन्धानमुखी पत्रकारिता गर्न समेत सेजनका पदाधिकारीलाई आग्रह गर्नु भयो ।
सोही कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले भन्नुभयो, “आर्थिक उदारीकरणपछि २०४८ सालताका मुलुकले हाँसिल गरेको उच्च आर्थिक वृद्धि दर २४ वर्षपछि आ.व. २०७३/७४ मा पुनः प्राप्त भएको छ । मुलुकमा अहिले नदेखेको विकासको लहर आएको छ । विगतको अढाई दशक मुलुक अनुत्पादक द्वन्द्वमा रुमलियो; त्यसैले खेर गएको २५ वर्षमा गर्न नसकेको काम आगामी ५ वर्षमा गर्ने गरी आर्थिक पत्रकारहरुले पनि उच्च मनोवल र ऊर्जाका साथ सकारात्मक सोच सहित समृद्ध नेपालको लक्ष्यमा एकाकार हुनु पर्दछ ।”
सेजनको वर्तमान कार्य समितिलाई न्यानो स्वागत गरेकोमा परिसंघप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष पुष्पराज आचार्यले आर्थिक समृद्धिको लागि उपयुक्त वातावरण सृजना गर्नु, तथ्यमा आधारित वस्तुपरक रिपोर्टिङ्ग गर्नु एवं समयसापेक्ष एजेण्डामा आर्थिक बहस गरी नीति निर्माताहरुलाई घचघच्याउनु सेजनको व्यवसायिक उद्देश्य हो  भन्नुभयो । आफ्नो दृष्टिकोण प्रष्ट्याउँदै अध्यक्ष आचार्यले यी सबै कार्य गर्नका लागि नेपाल उद्योग परिसंघसँग आवधिक रुपमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न, नीतिगत बहसको थालनी गर्न एवं द्विपक्षीय ढंगबाट ज्ञान र सूचना आदानप्रदान गर्न सेजन तत्पर रहेको बताउनु भयो । सो अवसरमा धन्यवाद मन्तव्य दिनु हुँदै परिसंघका वरिष्ठ उपाध्यक्ष सतिष मोरले सकारात्मक सोच एवं अवधारणाको विकास हामी सबैमा हुनु आवश्यक छ भन्नुभयो ।
प्राप्त जानकारी अनुसार नेपाल उद्योग परिसंघ अन्तर्गत रहेको थिङ्क ट्याङ्क र सेन्टर फर इण्डष्ट्रियल एक्सिलेन्सले सेजनसँगको सहकार्यमा हाललाई  त्रैमासिक रुपमा आर्थिक समृद्धिका विविध आयाममा विश्लेषणात्मक छलफल तथा तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
सेजनका नवनिर्वाचित उपाध्यक्ष प्रभात भट्टराई, महासचिव भीम गौतम, सचिव सुजन ओली सहित सम्पूर्ण कार्यसमिति उपस्थित भएको सो कार्यक्रममा नेपाल उद्योग परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्य र राष्ट्रिय परिषद्का सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
 
alt
 
alt