उद्योग मन्त्री र परिसंघ बीच भेटवार्ता

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले भाद्र २८ गते बुधबार नवनियुक्त उद्योग मन्त्री सुनिलबहादुर थापालाई सिंहदरबार स्थित उहाँकै कार्यकक्षमा भेट गरी बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थव्यवस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै औद्योगिक क्षेत्रका चुनौति र समस्याहरु अवगत गरायो । सो अवसरमा अध्यक्ष शर्माले बैँकिङ्ग क्षेत्रको चर्को व्याजदर, श्रमशक्तिको अभाव, पुराना ऐन कानूनका अव्यवहारिक प्रावधान, जग्गाको चर्को मूल्य आदि कारणले यस क्षेत्रको वृद्धिदर न्यून हुन गएको बताउँदै ती समस्याको समाधान गर्न मन्त्री थापाको ध्यानाकर्षण गर्नु भयो ।
उद्योग मन्त्रीसमक्ष परिसंघको दृष्टिकोण प्रस्तुत गर्दै अध्यक्ष शर्माले भन्नुभयो “कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको हिस्सा बढाई दीगो, उच्च र फराकिलो आर्थिक वृद्धिसँगै राष्ट्रिय लक्ष्य हाँसिल गर्न निजी क्षेत्र प्रतिवद्ध छ । तर यसका लागि मुलुकमा गुणस्तरीय पूर्वाधार निर्माण गर्ने, विधिको शासन बहाल गर्ने, बैदेशिक लगानी आकर्षण गर्ने र लगानीमैत्री वातावरणको सृजना गर्ने काममा सरकार नै अघि सर्नु पर्दछ ।”
उक्त अवसरमा उद्योग सचिव शंकर कोइरालाले विगत एक वर्ष देखि उद्योग मन्त्रालयले नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गरिरहेको र निजी क्षेत्रले भोग्नु परेको समस्याको समाधान गर्ने प्रयास गरिरहेको जनाउनु भयो । हाल परिवर्तन भई रहेका ऐन नियमहरु परिमार्जन गर्न निजी क्षेत्रलाई समेत सहभागी गराएको जनाउँदै अझै परिमार्जन गर्नु पर्ने ऐन नियमहरुका विषयमा समेत निजी क्षेत्रको सहभागिता रहने जानकारी दिनु भयो । परिसंघले विगत देखि उठाउँदै आएको Industrial Excellence Center को अवधारणा सहितको परियोजना प्रस्ताव अत्यन्त सकारात्मक तथा आवश्यक रहेकोले मन्त्रालय यस center लाई यथासिघ्र सञ्चालनमा ल्याउन प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।
प्रतिनिधि मण्डलको धारणा सुनेपछि मन्त्री थापाले हालको चुनौति नीतिगत सुधार रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसका लागि निजी क्षेत्रले समेत महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । हाल निजी क्षेत्रले भोग्नु परेका समस्याहरुलाई विद्यमान नीतिगत व्यवस्थाभित्र रहेर तत्काल सम्बोधन गरिने र दीर्घकालिन महत्वका विषयलाई क्रमशः नीतिगत तहबाट हल गर्दै लैजाने विश्वास दिलाउनु भयो । सो अवसरमा मन्त्री थापाले स्वच्छ औद्योगिक वातावरण सृजना गर्न क्रियाशील रहेको परिसंघ तथा निजी क्षेत्रसँग आपसी सहकार्य गरेर नै आफू अघि बढ्ने कुरामा ढुक्क हुन प्रतिनिधि मण्डललाई आग्रह गर्नु भएको थियो । 
उद्योगीहरुले भोग्नु परिरहेको अन्तर मन्त्रालय समन्वयका समस्याहरुलाई अबका दिनहरुमा उद्योग मन्त्रालय मार्फत सहजीकरण हुने व्यवस्था मन्त्रालयले मिलाउन लागेको कुरा जानकारी गराउँदै मन्त्री थापाले उद्योगहरुले आर्थिक वृद्धिमा पुर्‍याईरहेको योगदानलाई बढाउन औद्योगिक विकास तथा रोजगारी सृजना गर्न जरुरी भएको भन्दै विदेशमा काम गरिरहेका नेपालीहरु नेपाल फर्किसकेपछि यहाँ काम नपाउने अवस्था आएमा त्यसले समाजमा समेत नकारात्मक असर पर्ने तर्फ उद्योगी व्यवसायी समेत सचेत रहन आग्रह गर्नु भयो ।
उक्त भेटवार्तामा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्य र राष्ट्रिय परिषद्का सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
 
alt
 
alt