नीतिमा सुधार भएमा अर्थोडक्स चियाको निकासीको यथेष्ट सम्भावना

“राजनीतिक अस्थिरता विस्तारै सुल्झिदै गएको हुँदा सिंगो मुलुक नै अब आर्थिक विकासको एजेण्डामा केन्द्रीत भएर लाग्नु पर्दछ भने सन्तुलित आर्थिक विकासका लागि औद्योगिकीकरण सँगसँगै कृषिको व्यवसायिकरण गर्न सरकारी क्षेत्र, निजी क्षेत्र र स्थानीय बासिन्दाहरु समेत क्रियाशील हुनु आवश्यक छ ।”
उपरोक्त धारणा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिष कुमार मोरले मंगलबार अर्थोडक्स चिया सम्बन्धी एक दिने राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै व्यक्त गर्नु भएको हो । आफ्नो मन्तव्यको क्रममा वरिष्ठ उपाध्यक्ष मोरले अर्थोडक्स चियालाई व्यवसायिक ढंगले विस्तार गर्न सके निर्यात प्रवद्र्धन, रोजगारी सृजना र कृषकहरुको जीवनस्तरमा उल्लेख्य सुधार गर्न सघाउ पुग्दछ, त्यसैले अर्थोडक्स चियाको सम्भावनालाई राम्ररी उपयोग गर्न देखिएका चुनौतिहरु हल गर्न कार्यशाला गोष्ठीले व्यवहारिक सुझावहरु पहिचान गर्ने अपेक्षा समेत गर्नु भयो ।
डेनमार्क सरकार र अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक तथा वित्तीय सहयोगमा “उन्नति” नामक संस्थासँगको साझेदारीमा हाल नेपाल उद्योग परिसंघले अर्थोडक्स चिया, अलैँची, अदुवा र दूधको व्यवसायिक उत्पादनलाई वृद्धि गर्ने परियोजना सञ्चालन गरिरहेको छ । नेपालको इलाम, पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर गरी सात जिल्लामा सञ्चालित उक्त परियोजनाले त्यस्ता कृषि उपजको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी स्थानीय कृषकको जीवनस्तरमा समेत सुधार गर्ने लक्ष्य राखेको छ ।
सम्बन्धित जिल्लाबाट आएका कृषक, सहकारी संस्थाका प्रतिनिधि, हिमालयन अर्थोडक्स टि प्रोड्युसर्स एशोसियसन, हिमालयन को–अपरेटिभ लगायत नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी, कृषि विशेषज्ञहरु एवं अन्तर्राष्ट्रिय श्रम संगठन काठमाण्डौका देवेन्द्र ढुङ्गाना समेतको सहभागिता रहेको सो गोष्ठीमा अर्थोडक्स चियाको उत्पादनदेखि निकासीसम्म रहेका विभिन्न नीतिगत समस्या, चुनौति र गतिरोधहरु न्यून गर्ने उपायहरुका बारेमा विस्तृत छलफल भएको थियो । उक्त कार्यशाला गोष्ठीमा इलाम, पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम र संखुवासभा गरी छ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले धन्यवाद् ज्ञापन गर्नु भएको उक्त गोष्ठीमा परामर्शदाता डा. हरिबाबु तिवारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संयोजक गुन्जन उपाध्यायले परियोजनाको विविध पक्षका बारेमा जानकारी दिनु भएको थियो ।
 
alt
 
alt