औद्योगिक व्यवसाय ऐनको प्रावधान अनुसार आयकरमा छुट हुनु पर्दछ

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थ सचिव शंकर प्रसाद अधिकारी र राजस्व सचिव शिशिर ढुंगानासँग पौष २४ गते अर्थमन्त्रालयमा भेट गरी औद्योगिक व्यवसाय ऐनले उत्पादन मूलक उद्योगहरुका लागि दिएको आयकर सुविधा उपलब्ध गराउन माग गरेको छ ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको उक्त प्रतिनिधि मण्डलले दुवै सचिवहरुसँगको संयुक्त भेटमा २०७३ साल मंसिरदेखि कार्यान्वयनमा आइसकेको औद्योगिक व्यवसाय ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) मा उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको २० प्रतिशतले छुट पाउने स्पष्ट व्यवस्था गरेकोले यसमा सोही अनुसारको छुट दिन माग गरेको छ ।
नेपाल उद्योग परिसंघले विगत देखिनै तीब्र एवं दीगो औद्योगिक विकासका लागि उत्पादनमूलक उद्योगहरुलाई करका दरमा छुट तथा सुविधा उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गर्दै आएको हो । यसै सन्दर्भमा औद्योगिक व्यवसाय ऐन २०७३ ले व्यवस्था गरेको छुट तथा सुविधाहरु उद्योगले उपभोग गर्न पाउनु पर्ने र उद्योगहरुको कर छुटको मूल्याङ्कन गर्दा औद्योगिक व्यवसाय ऐन २०७३ को व्यवस्था अनुसारनै गर्न पाउने व्यवस्था हुनु पर्ने र आयकर ऐनले उत्पादनमूलक उद्योगलाई समेत विशेष उद्योगमा वर्गिकरण गरेको यथार्थतमा उद्योगको आयमा लाग्ने आयमा आयकर ऐन र औद्योगिक व्यवसाय ऐनमा छुट्टा छुट्टै प्रावधानबाट द्विविधा रहेको देखिएकाले औद्योगिक व्यवसाय ऐनको प्रावधान अनुसारनै २० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने माग परिसंघबाट गरिएको छ ।
साथै उत्पादनमूलक उद्योगहरुले उक्त सुविधा उपभोग गर्न ईफाईलिङ अनुसार नसक्ने भएकाले सो सम्वन्धि निर्णय नहुन्जेल सम्म म्यानूअल फाईल पेश गर्न पाउने व्यवस्थाका लागि अनुरोध गर्दै राजश्व कार्यालयहरुले म्यानुअल फाइल समेत लिने व्यवस्था गरी आन्तरिक राजश्व विभागबाट उक्त कार्यालयहरुलाई निर्देशन हुन माग गरिएको पनि परिसंघले उक्त अवसरमा माग गरेको छ ।
उक्त प्रतिनिधि मण्डलमा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।