परिसंघका अध्यक्ष मित्र राष्ट्र चीन प्रस्थान

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको बैशाख ११ गतेदेखि प्रारम्भ भएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजकीय भ्रमण टोलिमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर समेत संलग्न हुनु भएको छ ।
कार्यक्रम अनुसार राष्ट्रपतिको समुपस्थितिमा उद्योग तथा व्यवसाय प्रवद्र्धनको लागि चीनीया परिषद (CCPIT) द्वारा नेपाली प्रतिनिधि मण्डल र चीनीया लगानीकर्ता बीच आयोजित सेमिनारमा परिसंघ अध्यक्ष सम्मिलित हुनु हुने छ भने उहाँले सीसीपीआईटी का पदाधिकारीहरुसँग बैशाख १३ गते छुट्टै भेटघाट गरी परिसंघ र उक्त संस्था बीचको सहकार्यमा दुबै संस्थाबाट नेपाल र चीनमा गरिने कार्यक्रमको विषयमा छलफल गर्नु हुनेछ ।
स्मरणीय छ की परिसंघका अध्यक्ष सतिश कुमार मोरको पहलमा नवलपरासीमा संयुक्त लगानी गर्ने नेपालमा अहिले सम्मकै ठूलो होंसी शिवम् सिमेन्ट उद्योगको स्थापना भइ सञ्चालनमा समेत आइसकेको छ । जसबाट चिनीया लगानीकर्ताले नेपालमा लगानीको राम्रो वातावरण भएको सन्देश दिएको छ ।
चीन नेपालको प्रमुख व्यापारिक साझेदार भएपनि नेपालले चीनसँग ठूलो व्यापारघाटा सहनु परेको छ । साथै चीनसँग कनेक्टिभीटीको बारेमा हुने सहमति, समझदारीले पनि नेपालको औद्योगिकीकरणमा ठोस टेवा पुग्ने अपेक्षा परिसंघले लिएको छ । साथै “वेल्ट एण्ड रोड इनिसिएटिभ्स”का बारेमा समेत दुबै मुलुकका निजी क्षेत्र आपसी हितका बारे कसरी फइदा लिन सकिन्छ भन्ने बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।