प्रदेश नं. २ का मुख्यमन्त्री र परिसंघ बीच भेटवार्ता

उद्योगी तथा लगानीकर्ताको हित सुरक्षाका लागि प्रदेश दुई सरकारले पहल लिने
 
प्रदेश नम्बर २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताउनु भएको थियो । नेपाल उद्योग परिसंघ पुगेर मुख्यमन्त्री राउतले लगानीबिना समृद्धि सम्भव नभएकोले आफुले नयाँ लगानी आकर्षित गर्न तथा साविकका लगानीकर्ताको हित सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउनु भएको हो । नयाँ लगानीका लागि कानूनी सुधार, कर सहुलियत तथा भूमि प्राप्तीलाई सहज बनाउन हरदम प्रयास भइरहेको पनि मुख्यमन्त्री राउतले बताउनु भयो । साविकका उद्योगी तथा लगानीकर्ताहरुलाई भइरहेको दोहोरो कर तथा विद्युत महशुलमा रहेको अन्तरले परेको समस्या समाधानका लागि प्रदेश तहमा र संघिय सरकारको तहमा समेत पहल गर्ने प्रतिबद्धता मुख्यमन्त्री राउतले व्यक्त गर्नु भयो । सो अवसरमा प्रदेश २ का महान्याधिवक्ता दिपेन्द्र झाले उद्योगी तथा लगानीकर्ताहरुका लागि प्रदेशले चार प्रकारका विशेष सहुलियत तथा सहजीकरणको काम गरेको जानकारी पनि गराउनु भयो । पहिलो प्रादेशिक करमा २० वर्षे सहुलियत दोस्रो भूमि प्राप्तीमा सहजीकरण तेस्रो तिन घण्टा भित्रै उद्योग दर्ता र अन्य प्रक्रिया पुरा गरिदिने र चौथो उद्योगका लागि सुलभ दरमा विद्युत उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेर काम भएको महान्याधिवक्ता झाले उल्लेख गर्नु भयो । प्रदेश २ मा रहेका उद्योगले भोग्नु परेका समस्या समाधानमा कानूनी सहयोगका लागि पनि प्रदेश तम्तयार रहेको महान्याधिवक्ता झाले उल्लेख गर्नु भयो । 
सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले संघिय र प्रादेशिक दुवै तहमा सरकार र उद्योगी तथा लगानीकर्ता बीच विस्वासको वातावरण बनाउनु पर्ने समय आएको बताउनु भयो । सरकारका तह र उद्योगी तथा लगानीकर्ता बीच विस्वासको संकट हुदा लगानी नभित्रिने र भएको लगानीको पनि पलायन हुने खतरा रहेकोले यसमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । प्रदेश २ को सिमरा बिरगंज कोरिडोर तथा विरगन्जमा रहेको आर्थिक हवलाई जोगाउन तथा विस्तार गर्न पनि समग्र लगानी वातावरणमा सुधार हुनु पर्ने अध्यक्ष मोरले उल्लेख गर्नु भयो । विद्युत महशुलमा रहेको अन्तर कायम रहे औद्योगिक कोरिडोरमा रहेका उद्योग समेत बन्द हुन सक्ने भएकाले समस्या समाधानका लागि पहल लिन पनि अध्यक्ष मोरले मुख्यमन्त्री राउतसंग आग्रह गर्नु भयो । परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले विद्युत महशुलमा देखिएको समस्या समाधान नभए सिमरा बिरगंज कोरिडोरमा रहेका ठुला उद्योगहरु प्रतिस्पर्धी बन्न नसकि बन्द गर्नु पर्ने अवस्था आउन सक्ने बताउनु भयो । 
सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले हालै सम्पन्न पूर्वाधार सम्मेलनमा प्रदेशमा लगानी बढाउने उपाय स्वरुप प्रस्ताव गरिएको  प्रादेशिक लगानी साझेदारी मञ्च (Provincial Partnership Investors forum-PPIF) निर्माणमा अग्रसरताको अपेक्षा गरेको पनि उल्लेख गर्नु भयो । 
सो अवसरमा परिसंघका अर्का  उपाध्यक्ष राजेश अग्रवाल र परिसंघ राष्ट्रिय परिषद सदस्य नरेश दासले पनि प्रदेश २ मा रहेका उद्योगको अवस्था र समस्या समाधानका लागि आवश्यक  पहल लिन पनि मुख्यमन्त्री राउतसंग आग्रह गर्नु भयो ।
alt
 
alt