सञ्जाल विस्तार तथा सवलिकरणमा सीएनआईको जोड
मितिः २०६९ ।०६ ।२३
परिसंघको बिशेष साधारणसभा सम्पन्न
मंगलवार राजधानीमा नेपाली उत्पादनमुलक औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुको सर्वोच्च संस्था नेपाल उद्योग परिसंघको विशेष साधारणसभा सम्पन्न भयो । सो विशेष साधारणसभाले परिसंघको विधान तेस्रो पटक संशोधन गर्ने र परिसंघको लेखापरिक्षकको प्रतिवेदन सहितको विगत ३ आर्थिक वर्षको वार्षिक आयव्यव विवरण र वासलात पारित गर्यो । परिसंघका अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त बिशेष साधारणसभाले आगामी पुसमा परिसंघको १० औं वार्षिक साधारणसभा गर्ने निर्णय पनि पारित गर्यो ।
सञ्जाल विस्तार तथा सवलिकरणमा सीएनआईको जोड
देशका विभिन्न क्षेत्रमा विद्यमान आर्थिक तथा व्यापारिक सम्भावनालाई अधिकतम उपयोग गर्दै उच्च आर्थिक गतिविधि र रोजगारी सृजना मार्फत मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने हेतुले नेपाल उद्योग परिसंघ (सीएनआई) ले आफ्नो सञ्जाललाई थप सशक्त र देशब्यापी बनाउने निर्णय गरेको छ । मंगलवार राजधानीमा आयोजित परिसंघका पदाधिकारी, गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद, च्याप्टर र उद्योग संघहरु विच भएको अन्तरक्रिया कार्यक्रमा परिसंघको अहिले भएको सञ्जाललाई सवलिकरण गर्दै नयाँ स्थानमा पनि सञ्जाल विस्तार गरेर लगानी प्रवर्धन, औद्योगिक प्रदर्शनी, शैक्षिक तथा व्यवसायिक तालिम प्रदान गर्ने लगायतका विषयमा काम गर्ने निर्णय गरेको हो ।..........
परिसंघका अध्यक्ष बिनोद कुमार चौधरीले केही महिना भित्रै झापा, पोखरा, नेपालगञ्ज र कञ्चनपुरमा सीएनआईको च्याप्टर स्थापना गर्ने बताउनु भयो । अहिले परिसंघका कोशी, पर्साबारा र सुनसरी गरि तिन च्याप्टर क्रियाशिल छन् भने हेटौडा उद्योग संघ, चितवन उद्योग संघ र रुपन्देही उद्योग संघले परिसंघको संस्थागत सदस्यका रुपमा काम गरिरहेका छन् । परिसंघको अबको प्राथमिकतामा भएका सञ्जाललाई थप सवल र प्रभावकारी बनाउँदै औद्योगिक र व्यवसायिक सम्भावना भएका क्षेत्रमा सञ्जाल विस्तार गर्दै थप आर्थिक गतिविधि र रोजगारी सृजना गर्ने हुनेछ,परिसंघका अध्यक्ष विनोद चौधरीले भन्नुभयो । त्यसैगरी, आर्थिक र व्यवसायिक सम्भावना बढी भएका स्थान र क्षेत्रमा जनशक्ति, प्रविधि र गुणस्तर जस्ता उद्योगहरुको उत्पादकत्व सँग प्रत्यक्ष संवन्ध भएका विषयमा अनुसन्धान तथा विकासमा पनि काम गर्ने बताउनु भयो ।
उक्त भेलामा बोल्दै परिसंघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार बस्न्यात, उपाध्यक्ष हरिभक्त शर्मा तथा गभनिङ काउन्सिलका पदाधिकारीहरुले सबै क्षेत्रका च्याप्टर तथा उद्योग संघहरुले आफ्नो आफ्नो औद्योगिक र व्यवसायिक दक्षता तथा विज्ञतालाई उच्चतम उपयोग गर्दै अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो । त्यसैगरी परिसंघका उपाध्यक्ष अनुज अग्रवालले देश संघिय प्रणालीमा जान लागिरहेको अवस्थामा परिसंघका क्षेत्रीय र स्थानीय च्याप्टर तथा उद्योग संघहरुको भुमिका थप महत्वपूर्ण हुने धारणा राख्नु भएको थियो । सोही अवसरमा चितवन उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले चितवनमा औद्योगिक करिडोर र अन्तररष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी स्थापना गरेर चितवनलाई मुलुककै आथिृक राजधानीका रुपमा विकसित गर्ने कार्यमा देशको समग्र औद्योगिक क्षेत्रको प्रतिनिधि संस्थाका रुपमा परिसंघले अग्रणी भुमिका खेल्नु पर्ने बताउनुभयो । सीएनआई च्याप्टर समन्वय समिती तथा कोशी च्याप्टरका अध्यक्ष बासु गोल्यानले अबका दिनमा परिसंघ थप सशक्त भएर अघि बढ्ने धारणा ब्यक्त गर्नु भयो ।
सोही कार्यक्रममा हेटौडा उद्योग संघका अध्यक्ष ऋषि घिमिरेले उद्योगी व्यवसायीहरु दिन प्रति दिन असुरक्षित भएको भन्दै सन्दर्भ जाड्दै परिसंघले औद्योगिक वातावरण, लगानी तथा व्यवसायिको सुरक्षा जस्ता विषयमा निजी क्षेत्रको तर्फबाट सरकार सँग पैरवी गर्नु पर्ने बताउनु भयो । त्यसैगरी परिसंघको पर्साबारा च्याप्टरका अध्यक्ष महेन्द्र बहादुर अमात्यले परिसंघले उद्योगहरुको क्षमता र उनीहरुको मानव संशाधन विकासका विभिन्न तालिम तथा गोष्ठीहरु आयोजना गर्नु पर्नेमा जोड दिनुभयो । साथै रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठकले सरकारले औद्योगिक पुर्वाधार विस्तारमा वेवास्ता गरेकाले परिसंघ जस्ता औद्योगिक क्षेत्रको प्रतिनिधित्व गर्ने नीजि संघसंस्थाहरु औद्योगिक पुर्वाधार विकासमा लाग्नु पर्ने धारणा राख्नुभयो ।