दक्षिण कोरियासँग लगानी तथा व्यवस्थापकिय क्षमता विस्तारमा सहकार्यका लागि आग्रह

नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत छङ सक पार्कले नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तरक्रियामा कोरियाली राजदुत छङ सक पार्कले नेपालको पर्यटन, जलविद्युत तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्ताहरुलाई प्रेरित गर्ने बताउनु भएको हो । कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गरिने पनि राजदूत पार्कले उल्लेख गर्नु भयो । 
सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसंघ सहयोग गर्न तयार रहेको बताउनु भयो । कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणका लागि थप कोरियाली पूँजी तथा प्रविधिलाई नेपाल भित्र्याउने तर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह पनि गर्नु भयो । परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल र विरेन्द्रराज पाण्डेले नेपालमा कोरियाली एक्जिम बैँक मार्फत् पूँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्ताहरुलाई सहजीकरण गर्न कोरियाली दुतावाससँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । कोरियामा काम गरेर फर्केका नेपालीहरुका कारण कोरियाली कम्पनीहरुका लागि नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण भएकाले यसलाई उपयोग गर्न पनि परिसंघले आग्रह गरेको छ । कोभिड पेनडेमिकको असर कम हुनासाथ द्विपक्षीय लगानीकर्ताहरुको आदान प्रदानका लागि सहजीकरण गर्ने पनि परिसंघले प्रतिवद्धता जनाएको छ ।
alt
 
alt