Information Portal: Invest Nepal को शुभारम्भ

LaunchingofIP:InvestNepal LaunchingofIP:InvestNepal

नेपाल सरकार उद्योग मन्त्रालय र नेपाली औद्योगिक तथा व्यवसायिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकी विकास नियोग अन्तर्गतको NEAT Activity को सहयोगमा स्थापना गरेको सूचना केन्द्र (Information Portal: Invest Nepal) सोमवारदेखी सञ्चालनमा आएको छ । सोमवार राजधानीमा आयोजित एक समारोहमा उद्योग मन्त्री श्री अनिल कुमार झाले सो सूचना केन्द्रको औपचारिक उद्घाटन गर्नु भएको हो । परिसंघका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, सहसचिव अनिल कुमार ठाकुर, परिसंघका उपाध्यक्ष द्वय हरीभक्त शर्मा र अनुज अग्रवालको पनि उपस्थिति थियो । त्यसैगरी, इन्भेष्ट नेपालमा प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराएको अमेरिकी सहयोग नियोग यूएसएआइडी अन्तर्गतको निट (NEAT) एक्टीभिटीका प्रमुख फिलिप्स ब्राउटन तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगल र निटका Business Enabling Environment Manager (BEEM)  डा देवभक्त शाक्यको पनि उपस्थिति थियो ।

Media Response

नेपालमा बिदेशी तथा स्वदेशी लगानी आकर्षित गर्ने उद्देश्यले लगानीकर्तालाई आवश्यक सबै सूचना तथा जानकारीहरु एकै बिन्दुबाट सहज र सरल रुपमा उपलब्ध गराउने हेतुले नेपाल सरकार उद्योग मन्त्रालय र सीएनआईको संयुक्त स्वामित्वमा स्थापना भएको इन्भेष्ट नेपाल आफ्नो लक्ष्य प्राप्त गर्न सफल हुने मन्त्री झाले बताउनुभयो । सरकारले घोषणा गरेको लगानी वर्ष २०१२/१३ लाई समेत सहयोग पुर्याउन यो पोर्टल निर्माण गरिएको हो, मन्त्री झाले भन्नुभयो । उक्त कार्यक्रममा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष बस्न्यातले इन्भेष्ट नेपाल परिसंघको मात्र नभएर सम्पूर्ण नेपालीको भएकाले यसमा सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । परिसंघको एक मात्र उद्देश्य नेपालको आर्थिक बृद्धिलाई गति दिन आवश्यक पर्ने लगानी जुटाउन सहयोग पुर्याउनु हो,बस्न्यातले भन्नुभयो,त्यसका लागि ठुलो परिमाणको लगानी आवश्यक पर्छ, जुन बिदेशी लगानीबाट मात्र सम्भव हुन्छ । यही तथ्यलाई मध्यनजर राखेर नेपाल सरकारसँगको सहकार्यमा परिसंघले इन्भेष्ट नेपाल निर्माण गरेको हो । इन्भेष्ट नेपाल नेपालकै सम्पत्ति भएकाले अहिले दाताको सहयोगमा परिसंघबाट शुरुआत भए पनि यसको स्वामित्व पूर्ण रुपमा सरकारमा नै हुने बस्न्यातको भनाई थियो ।

निजी क्षेत्रको अगुवायीमा उद्योग मन्त्रालयमार्फत शुरु भए पनि इन्भेष्ट नेपाल मा अन्य सरकारी तथा निजी सरोकारवालाहरु पनि सहभागिता हुनु पर्ने उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीको भनाई थियो । सूचना केन्द्रमा नयाँ र आधिकारिक सूचना तथा जानकारीहरु अद्यावधिक गरिरहनु पर्ने भएकाले आगामी वर्षदेखी इन्भेष्ट नेपाल का लागि सरकार र परिसंघ दुबैले मिलेर काम गर्नु पर्छ, ज्ञवालीले भने, यसको विश्वसनीयता र दिगोपना स्थापना भन्दा धेरै महत्वपूर्ण हुन्छ । नेपालमा लगानीका प्रचुर सम्भावना भएको र बिदेशी लगानीकर्ताहरु यहाँ आउँन इच्छुक देखिएको अवस्थामा इन्भेष्ट नेपाल ले उनीहरुका लागि आवश्यक सूचना उपलब्ध गराएर सहयोग पुर्याउने अमेरिकी सहयोग नियोग फिलिप ब्राउटनको भनाई थियो । यही तथ्यलाई ध्यान दिएर निट एक्टिभिटीले इन्भेष्ट नेपालका लागि सहयोग गरेको हो,फिलिपले भने यसको सफलताका लागि सबैको सकारात्मक सोच र सहयोग जरुरी छ ।

सूचना केन्द्र निर्माणमा सहयोग गर्ने अमेरिकी सहयोग नियोग र उद्योग मन्त्रालयलगायत नेपाल सरकारका अन्य निकायहरुलाई धन्यवाद दिँदै परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले भन्नुभयो, उद्योग तथा व्यवसायीको समस्या तथा समाधानका उपाय उद्योगी व्यवसायीलाई बढी नै थाहा हुने भएकाले उद्योग मन्त्रालय र परिसंघको सहकार्यमा यो परियोजना सञ्चालन गरिएको हो ।पोर्टलको उद्देश्य माथि प्रकास पार्दै परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपालमा सूचनाको अभाव नभए पनि तिनको प्रभावकारी व्यवस्थापन र आधिकारिक एकिकरणको आवश्यकता रहेको बताउनुभयो । प्रशासनिक प्रकृयाका विषयमा पनि प्रयाप्त जानकारी नहुने तथा नीतिगत अस्पष्ठताले पनि नयाँ लगानीकर्ताहरुलाई अप्ठ्यारो पर्ने गरेको छ, अग्रवालको भनाई थियो,यी सबै समस्याको समाधानमा सहयोग गर्न र सम्भावित लगानीकर्ताहरुलाई परियोजना अगाडी बढाउन इन्भेष्ट नेपाल प्रभावकारी हुने हाम्रो अपेक्षा हो ।