नेपाल उद्योग परिसंघको दशौं वार्षिक साधारण सभाको पुर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्

CurtainupPressMeetfor10thAGM-1 CurtainupPressMeetfor10thAGM-2

आदरणीय पत्रकार मित्रहरु

नेपाल उद्योग परिसंघले आफ्नो स्थापनाको एक दशक पुरा गरेको अवसरमा आयोजना गर्न लागिएको दशौं वार्षिक साधारण सभाको पुर्वसन्ध्यामा आयोजित यस भेटघाट कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नु भएकोमा समग्र पत्रकार मित्रहरुलाई हार्दिक स्वागत एवं अभिवादन गर्न चाहन्छु । आजभन्दा एक दशक पहिला मुलुक अत्यन्तै असहज अवस्थाबाट गुज्रिरहेको समयमा दिन प्रति दिन खस्किदो औद्योगिक वातावरण र अन्य विभिन्न समस्याका कारण उद्योग सञ्चालन गर्न नसकेर बन्द गर्नु पर्ने वाध्यताले कमजोर बन्दै गएको उद्योगी व्यवसायीहरुको मनोवललाई थप कमजोर हुन नदिन, लगानी प्रवर्धन गर्न र औद्योगिक विकासलाई टेवा पुयाउन सरकार, दातृ निकाय, नागरिक समाज र व्यवसायिक जगतको विचमा समन्वयकर्ताको भुमिका निर्वाह गर्ने उद्देश्यले उत्पादनमुलक तथा सेवा उद्योगहरुको प्रतिनिधि संस्थाका रुपमा यस परिसंघको स्थापना भएको यहाँहरु सबैलाई अवगत नै छ । यो अवधीमा परिसंघले पार गरेका कैयौं उकाली ओरालीहरुका साथै मुलुकको आर्थिक उन्नतीका लागि औद्योगिक वातावरण सुधार, लगानी प्रवर्धन, व्यापार सहजिकरण र खुला बजार अर्थनीतिलाई सबल बनाउन यहाँहरु सबैले दिनुभएको साथ र सकारात्मक भुमिकाका लागि परिसंघ समग्र उद्योगिहरुको तर्फबाट आभार प्रकट गर्न चाहन्छ ।

परिसंघको स्थापनापछि मुलुकमा ठुलै राजनीतिक र सामाजिक परिवर्तन भए, नयाँ राजनीतिक प्रणालीको शुरुआत भयो । तर, आर्थिक र औद्योगिक क्षेत्रमा भने आशातित प्रगती हुन सकेको छैन । त्यसै अवधीमा लगभग नेपालको जस्तै अवस्थाबाट गुज्रिएको छिमेकी मुलुक बंगलादेश आर्थिक बृद्धिका हिसावले अहिले हामीभन्दा अगाडी बढीसकेको छ । बंगलादेशको उक्त सफलतामा बिश्व शान्ती पुरस्कारबाट सम्मानित प्राध्यापक मोहमद युनुसले प्रतिपादन गरेको लघुवित्तको अवधारणाले महत्वपुर्ण योगदान पु¥याएको विभिन्न अध्ययनहरुले देखाएका छन् । बंगलादेशबाट शुरुआत भएको उक्त लघुवित्तको अवधारणा विश्वब्यापी बन्दै गएको अवस्थामा नेपालले पनि आफ्नो विकास प्रारुपमा यसलाई स्थान दिएको छ । परम्परागत औपचारिक बैंकिङ सेवाको पहुँच कुल जनसंख्याको एक तिहाइमा मात्र सिमित रहेको अवस्थामा देशको ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका मानिसहरुलाई समूहमा आवद्ध गरी आयमूलक काममा संलग्न गराउनका लागि आवश्यक पर्ने वित्तीय साधनको परिपूर्ति गर्ने उद्देश्यले लघुवित्तलाई अवलम्वन गरिएको हो ।

अहिलेसम्म सबै विकास क्षेत्रमा एक/एक वटा ग्रामीण विकास बैंक सञ्चालनमा छन् भने निजी क्षेत्रबाट स्थापित १५ लघुवित्त विकास बैंकहरू पनि कार्यरत रहेका छन् । साथै लघु वित्तसम्बन्धी कारोवार गर्ने संस्थाहरूलाई थोक कर्जा उपलब्ध गराउन ३ वटा थोक कारोवार गर्ने संस्थाहरू पनि कार्यरत छन् । तथापी अहिलेसम्म लघुवित्तबाट नेपालले अपेक्षाकृत उपलब्धी हासिल गर्न सकेको छैन । यसै तथ्यलाई मध्यनजर गरेर बंगलादेशले गरिबी निवारणमा लघुवित्तबाट हासिल गरेका सफलता, सामाजिक उत्तरदायित्व सहितको व्यवसाय, समाजको उत्थानमा युवाको भुमिका लगायतका विषयमा अनुभव आदान प्रदान गर्ने उद्देश्यले लघुवित्त र सामाजिक व्यवसायका प्रवर्तक प्राध्यापक युनुसलाई परिसंघले आफ्नो दशौं साधारण सभाको अवसरमा बिशेष अतिथीको रुपमा आमन्त्रण गरेको हो ।

प्राध्यापक युनुसको तिन दिने नेपाल बसाईलाई सकेसम्म बढी फलदायक बनाउने उद्देश्यले परिसंघले अन्य संघसंस्थाहरु सँगको सहकार्यका विभिन्न विचार गोष्ठी, सम्मेलन र बिशेष व्यवसायिक सत्रहरुको आयोजना गरेको छ । यसै शिलसिलामा यही पुष ६ गते दिउसो काठमाडौं आउने प्रा. युनुसले सोही दिन साँझ नेपाल उद्योग परिसंघ, लघुवित्त संस्थाहरु, ग्रमिण लघुवित्त विकास केन्द्र (RMDC) र नेपाल बैंकर्स संघले आयोजना गर्ने सामाजिक व्यवसाय र लघुवित्त विषयक कार्यशाला गोष्ठीमा गरिबी तथा असमानता न्यूनिकरणमा सामाजिक व्यवसाय र लघुवित्तको महत्वका साथै यस क्षेत्रमा बंगलादेशले हाँसिल गरेको अनुभवका विषयमा मन्तब्य दिने कार्यक्रम तय भएको छ । त्यसैगरी ७ गते विहान त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग, परिसंघको युवा उद्यमी मञ्च (CNIyef), नेपाल युवा उद्यमी मञ्च (NYEF) र नेपाल आर्थिक समाज (NEA) ले संयुक्त रुपमा होटल सोल्टीमा आयोजना गर्ने सामाजिक व्यवसाय र युवा विषयक बिशेष समारोहमा प्रा. युनुसले आर्थिक विकास र सामाजिक उत्थानमा युवा उद्यमीको भुमिका माथि प्रकाश पार्ने कार्यक्रम छ ।

त्यसैगरी ७ गते मध्यान्हमा प्रा. युनुसले सार्क सचिवालय र SPACE ले आयोजना गर्ने अन्तकृया कार्यक्रममा सार्क क्षेत्रमा लगानी र व्यवसाय विस्तारको सम्भावना तथा चुनौती विषयमा मन्तब्य दिने कार्यक्रम छ । साथै सोही दिन दिउसो परिसंघको १० दशौं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा आयोजना हुने सामाजिक व्यवसाय र व्यवसायिक जगत नामक बिशेष कार्यक्रमा प्रा. युनुसले बिशेष अतिथिका रुपमा सामाजिक उत्तरदायित्वमा संस्थागत जगतको भुमिकाका विषयमा सारगर्भित मन्तव्य दिने कार्यक्रम तय भएको छ । सो उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री डा बाबुराम भट्टराई प्रमुख अतिथिका रुपमा उपस्थित हुने कार्यक्रम छ ।

पुष ८ गते दिउसो परिसंघको साधारण सभाका विभिन्न कार्यक्रमहरु हुने छन् भने सोही दिन साँझ परिसंधको दशौं साधारण सभा समापन हुने कार्यक्रम छ ।

धन्यवाद

२०६९/०९/५