परिसंघको नेपालगञ्ज च्याप्टर समुद्घाटन

VPManojKediaAddressingtheProgram NepalgunjChapterEstablishmentProgram

नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग परिसंघले आइतवार आफ्नो नेपालगञ्ज च्याप्टर उद्घाटन गरेको छ । नेपालका प्रमुख औद्योगिक तथा व्यवसायिक केन्द्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा नेपालगञ्ज च्याप्टर समुद्घाटन गरिएको हो । च्यापटर उद्घाटन गर्न नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी श्री ढुण्डीराज पोख्रेलले परिसंघको नेपालगञ्ज कार्यालय उद्घाटन गर्नु भएको हो । परिसंघको उपस्थितिले मध्यपश्चिमाञ्चलमा उद्योग व्यवसायलाई थप विस्तारित बनाउन सहयोग हुने छ, पोख्रेलले भन्नुभयो ।

उद्घाटन समारोहमा परिसंघका उपाध्यक्षहरु मनोज केडिया र बासुदेव गोल्यानका साथै परिसंघका महानिर्देशक मेघनाथ न्यौपाने लगायत नेपालगञ्जका स्थानीय उद्योगी व्यवसायीहरु, परिसंघका सदस्यहरु, प्रतिनिधि संस्थाहरु जस्तै नेपालगञ्ज उद्योग वाणिज्य संघ लगायतका पदाधिकारीहरुको र बाँकेका अधिकांश सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो । परिसंघ (CNI) को नेपालगञ्ज च्याप्टर संयोजक श्री रतन कुमार टण्डनले उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । नेपालगञ्जमा परिसंघको साखा स्थापना भएपछि मध्यपश्चिमका उद्योगी व्यवसायीहरुको मनोबल बढेको छ, टण्डनले भन्नुभयो । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण प्रसाद श्रेष्ठले स्थानीय व्यवसायीहरुको हकहित संरक्षण तथा उद्योग व्यवसायको प्रवर्धनका लागि परिसंघ र महासंघ सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

परिसंघका उपाध्यक्ष तथा संजाल विस्तार समितिका राष्ट्रिय संयोजक श्री बासुदेव गोल्यानले नेपालका औद्योगिक केन्द्रहरुमा सञ्जाल विस्तार गर्ने परिसंघको नीति अनुरुप नेपालगञ्ज च्याप्टर स्थापना भएको र अब छिट्टै शुदरपश्चिममा पनि च्याप्टर स्थापना गरिने बताउनु भयो । परिसंघका अर्का उपाध्यक्ष मनोज केडियाले परिसंघले आफ्नो सन्जाल विस्तारसँगै स्थानीय स्तरका साना तथा मझौला उद्योगहरुको विकास गर्ने रणनीति अनुरुप नै विभिन्न स्थानमा आफ्नो उपस्थिति बढाउदै लगेको र आगामी दिनहरुमा यसलाई निरन्तरता दिइने बताउनु भयो ।