उद्योगी माथिको आक्रमणको भत्सर्ना

प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग परिसंघको आजिवन सदस्य सस्था मुरारका अर्गनाईजेशनका निर्देशक श्री पशुपती मुरारका माथि मंगलवार भएको आक्रमणप्रति नेपालको औद्योगिक एवं व्यवसायिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

हुन त एउटा उद्योगी तथा रोजगारदातालाई नै लक्षित गरेर आतंकवादी शैलीमा गरिएएको यस्तो निन्दनीय आक्रमणमा मुरारका पर्नु भएको छैन तापनी उहाँ चढ्ने मोटरमा भएको आक्रमणको परिसंघले घोर भत्सर्ना गर्दछ । पछिल्लो समयमा बढ्दै गएका यस्ता आक्रमणले मुलुकमा आतंकबादी गतिविधि बढ्दै गएको र यसले मुलुकमा सूरक्षाको वातावरण दयनीय बनेको प्रष्ट हुन्छ । फलस्वरुप, समग्र आर्थिक, औद्योगिक तथा व्यवसायीक वातावरणका साथै लाखौंको रोजगारी र अर्बौको आर्थिक गतिविधि सृजना गर्ने औद्योगिक क्षेत्र नै तहसनहस हुने सम्भावना बढाएको छ ।

मुलुकको लगानी, आर्थिक एवं व्यवसायिक वातावरण खल्बलाउने दुरासयले गरिएको यस्तो आक्रमण जुनसुकै ब्यक्ति वा समूहबाट भएको भए पनि हदैसम्मको सजायको भागी हुनु पर्छ भन्ने परिसंघको धारणा छ । तसर्थ, भविष्यमा यस्ता अपराधिक ब्यक्ति वा प्रबृत्तिको मनोबल बढ्न नपाओस र अहिले नै जरजर अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र थप धरासायी नबनोस भनेर यस्ता अपराधिक र अराजक गतिविधिहरु तुरुन्त रोक्ने दिशामा पहल कदमी गर्न परिसंघ सरकारसँग जोडदार माग गर्दछ ।