परिसंघबाट उद्योगहरुको ऊर्जा परिक्षण (Energy Audit) शुरुः

नेपाल उद्योग परिसंघ र अन्तरराष्ट्रिय वित्त निगम (IFC) को संयुक्त प्रयासमा परिसंघका सदस्य उद्योग प्रतिस्ठानहरुमा ऊर्जाको प्रयोग र लागत परिक्षण (Energy Audit) गर्ने कार्य शुरु भएको छ । IFC को प्राविधिक सहयोग र परिसंघको पहलमा अन्तरराष्ट्रिय ऊर्जा विज्ञहरुको एक प्राविधिक टोली बाट उक्त ऊर्जा परिक्षण गर्न लागिएको हो । नेपाली औद्योगिक क्षेत्रमा स्वच्छ ऊर्जाको दिगो व्यवस्थापनको दिशामा अगाडी बढ्न क्लिन इनर्जी डेभलपमेण्ड बैंक र IFC को पहलमा शुरु गरिएको Sustainable Energy Finance Program in Nepal अन्तर्गत प्राथमिक चरणमा परिसंघ अन्तर्गतका ७ ओटा उद्योगहरुको Energy Audit गर्ने कार्यक्रम छ ।

यस खालको परिक्षणले उद्योगहरुमा ऊर्जाको खपत तथा लागत कम गर्न, बैकल्पिक ऊर्जाको प्रवर्दन गर्न र परम्परागत ऊर्जा (Fossil Fuel) को निर्भरता कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । भारत लगायतका अन्य विकासशिल मुलुकहरुले परम्परागत ऊर्जाको निर्भरता कम गर्न नविकरणीय ऊर्जालाई औद्योगहरुमा प्रवद्र्धन गर्न नियमित रुपमा ऊर्जा परिक्षण गर्ने चलन हुन्छ । यसबाट नविकरणीय ऊर्जालाई घरायसी प्रयोगबाट औद्योगिक प्रयोगतिर विस्तारित गर्दै उद्योग र उत्पादनमुलक उद्योगको पूरकका रुपमा बिकास गर्न सकिने सम्भावना भएकाले नेपालमा पनि परिसंघको पहलमा ऊर्जा परिक्षण शुरुआत गरिएको हो । प्रारम्भिक परिक्षणबाट सम्भाव्य देखिएका उद्योगहरुमा अर्को चरणमा बिस्तृत परिक्षण गरिने र अन्य उद्योगहरुमा गर्दै लैजाने परिसंघको योजना छ ।