प्रस्तावित वन्द फिर्ता लिन नेपाल उद्योग परिसंघको आह्वान

संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा नेकपा–माओवादी लगायतका ३३ दलीय मोर्चाले राजनीतिक उद्देश्य पूर्ति गर्न नेपाल बन्द गर्ने कार्यक्रम तय गरेको विषयमा नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ (CNI) को गम्भिर ध्यानाकर्षण भएको छ ।

धेरै लामो समय देखी संक्रमण कालबाट गुज्रिरहेको नेपालमा समय समयमा हुने बन्द, हडताल, अवरोध, असुरक्षा र अनिश्तिताका कारण नेपालको औद्योगिक क्षेत्र आक्रान्त भएको छ । त्यसबाट एकातिर बैदेशिक लगानीमा प्रतिकुल असर परेको छ भने अर्कोतिर रोजगारीको खोजीमा प्रति दिन सयौंको संख्यामा नेपाली युवाहरु बिदेशिन बाध्य छन् । श्रम अशान्ती, बन्द–हडताल, लोडसेडिङ र चन्दा आतंकको मारबाट नेपालका औद्योगिक प्रतिष्ठानहरु बिदेशी कम्पनीहरु सँग प्रतिस्पर्धा गर्न नसकि आफ्नो व्यवसायिक क्षमता गुमाउँदै गइरहेका छन् । यस्तो विषम परिस्थितिमा नेपालको राजनीतिक समस्याको समाधन नेपाल बन्द, हडताल वा अवरोधबाट हुन नसक्ने कुराको परिसंघ ध्यानाकर्षण गराउन चाहन्छ । राजनीतिक समस्याको समाधान आपसी वार्ता र सहमती एवं समझदारीका आधारमा राजनीतिक तवरले नै हुनु पर्दछ भन्ने पक्षमा नेपाल उद्योग परिसंघले सधै आफ्नो धारणा स्पष्ट रुपमा राख्दै आएको छ ।

परिसंघ कुनै पनि प्रकारको बन्द हडताल र अवरोधको विपक्षमा छ । दैनिक काम गर्न पाउने, विद्यालय जान पाउने, आ–आफ्नो उद्योग व्यवसाय संचालन गर्न पाउने र अस्पतालमा गएर औषधी उपचार गर्न पाउने आम नागरिकको अधिकारलाई कहि र कतैबाट पनि अवरोध गरिनु हुन्न र नागरिक स्वतन्त्रताको सम्मान सबैले गर्नु पर्छ भन्ने विषयमा पनि परिसंघ जोड दिन चाहन्छ । यसै परिप्रेक्षमा नेकपा–माओवादी सहितका ३३ दलहरुलाई प्रस्तावित बन्दको कार्यक्रम फिर्ता लिन नेपालको संपूर्ण निजी क्षेत्रको तर्फबाट आह्वान गर्दै आपसी वार्ता र सहमतीको माध्यमबाट समस्याको समाधान गरिनु पर्छ भन्नेमा परिसंघ पुनः जोड दिन चाहन्छ ।