राजनीतिक गतिरोध नलम्ब्याउ

मितिः २०७१ ।११। २७
निर्वाचनबाट गठित दोस्रो संविधानसभा मार्फत सबै राजनीतिक दलहरुको प्रतिवद्धता तथा सहमतीमा मुलुकको आर्थिक विकासलाई गति प्रदान गर्ने खालको संविधान जारी गर्न पूर्वनिर्धारित समय माघ ८ पार भइसकेको आज लगभग २ महिना हुन लागेको छ । घोषित मितिमा देशले संविधान पाउँछ भन्ने आम नेपाली लगायत सम्पूर्ण व्यावसायी क्षेत्रको चाहना र आकांक्षा विपरितका राजनीतिक घटनाक्रम र गतिहिनताले समग्र मुलुकमा र बिशेष गरी अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रमा समेत निराशा छाएको छ । 
हुन त पूर्वनिर्धारित समयमा नै दोस्रो संविधानभाको चुनावमा गरेको प्रतिवद्धताअनुरुप जनतालाई संविधान देउ भनेर सरकार तथा राजनीतिक दलहरुलाई खबरदारी गर्ने र दवाब दिने कार्य निजी क्षेत्र तथा अन्य सरोकारवालाहरुबाट नभएको भने होइन । तर, पछिल्लो समय न त संविधानसभाले स्थापित प्रजातान्त्रिक प्रकृयाअनुसार आफ्नो काम गर्न सकेको छ, न सत्तापक्ष र प्रतिपक्ष मोर्चाका राजनीतिक शक्तीहरुका विचमा सार्थक संवाद नै हुन सकेको छ । यसबाट मुलुकको समग्र बिकास एवं राष्ट्रको अर्थतन्त्रमा प्रतिकुल असर पर्नेगरी आम नागरिक र औद्योगिक तथा व्यवसायिक जगतमा नैराश्यता छाउँदा पछिल्लो समय केही सुधारको बाटोमा लागेको लगानीको वातावरण र निजी क्षेत्रका लगानी कर्तामा पलाएको आशा एवं विश्वास पुनः धुमिल बन्दै जाने भएकोले यस प्रति निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । 
यसरी अर्थतन्त्र र आम मानिसको जनजिविकाका लागि प्रतिउत्पादक बन्दै गएको राजनीतिक गतिरोध लामो समय सम्म लम्ब्याउनु कुनै पनि कोणबाट जायज छैन भन्ने परिसंघको ठहर छ । त्यसैले अविलम्व संवाद तथा वार्ताको माध्यमबाट होस वा स्थापित मूल्य मान्यता वा राजनीतिक सहमति वा प्रजातान्त्रिक विधिबाट होस सबैको हक अधिकार सुनिश्चित हुने खालको संविधान जारी गर्ने कार्यलाई अविलम्व सम्पन्न गर्न परिसंघ सबै राजनितीक दलहरूलाई हार्दिक अपिल गर्दछ । हामी नेपालका राजनितीक दलहरूलाई सार्थक बर्तामा सरिक हुन र समयवद्ध समयसिमा भित्र संविधान निर्माण कार्य सम्पन्न गर्ने गुरूत्व दायीत्व निर्वाह गर्न आव्हान गर्दछौं । 
मुलुकलाई पछाडी धकेल्ने र आम नेपालीलाई सधै गरिबीको दुष्चक्रमा बस्न बाध्य पार्ने अनिस्चित राजनीतिक गतिरोधको अन्त्य गरि ऐतिहासिक र जिम्मेवारपूर्ण व्यवहार गरि आर्थिक समृद्धि तथा लगानी प्रवद्र्धनको वातावरण तयार गर्ने दिशामा पहल कदमी लिन सबै राजनीतिक दल तथा सरोकारवालाहरु लाई परिसंघको आग्रह छ । अन्त्यहीन सम्वादको श्रृङखला अन्त्य गरी नेपाली जनताको भरोसा र आकांक्षालाई जीवन्त राख्न समेत नेपाल उद्योग परिसंघको तर्फबाट नेपालका सबै राजनेताहरूलाई पुनः हार्दिक आव्हान गर्दछौं ।