नेपाल बन्द फिर्ता लिन नेपाल उद्योग परिसंघको आव्हान

उद्योग व्यवसाय बन्द गर्ने गतिविधि बन्द गरौंः
राजनीतिक गतिरोधलाई नलम्ब्याई राजनीतिक सहमतिबाट होस वा प्रजातान्त्रिक विधिबाट होस सवैको हक अधिकार सुनिश्चित हुने खालको सम्बिधान जारी गर्ने कार्यलाई सम्बैधानिक माध्यमबाट अविलम्ब अघि बढाई बन्द, हडताल जस्ता गतिविधि पुर्णतया बन्द गर्न नेपालको निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघले सम्बन्धित सवैमा वारम्बार आग्रह गर्दै आएको हो ।
सम्पूर्ण बन्द तथा हड्तालको विकल्पको खोजि हुनु पर्ने निजी क्षेत्र लगायत सवै तह र तप्काको बिनम्र आग्रह विपरित नेपाल बन्द गर्ने क्रम पुनः प्रारम्भ हुन गएबाट एकातिर मुलुकको अर्थतन्त्र थप क्षतविक्षत हुने अवस्थामा पुगेको छ भने अर्कोतिर सम्पूर्ण व्यवसायिक क्षेत्रको चाहाना र आकांक्षा विपरितका यस्ता घटनाक्रमले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रमा ठूलो निराशा छाएको छ ।
धेरै लामो समय देखि संक्रमण कालबाट गुज्रिरहेको नेपालमा समय समयमा हुने यस्ता बन्द, हडताल र अवरोध, असुरक्षा र अनिश्तिताका कारण नेपालको औद्योगिक क्षेत्र अक्रान्त भएको छ । त्यसबाट एकातिर स्वदेशी र बैदेशिक लगानीमा प्रतिकुल असर परेको छ भने अर्कोतिर स्वदेशमा  रोजगारीको अवसर नपाएर प्रति दिन सयौंको संख्यामा नेपाली युवा युवतीहरु बिदेशिन बाध्य छन् । श्रम अशान्ती, बन्द, हडताल, लोडसेडिङको मारबाट ठूलो मर्ममा परेका नेपालका  औद्योगिक प्रतिष्ठानहरु बिदेशी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न नसकि आफ्नो व्यासायीक क्षमता गुमाउदै गइरहेका छन । यस्तो विषमः परिस्थितिमा नेपालको राजनैतीक समस्याको समाधान नेपाल बन्द र हडताल, अवरोधबाट हुन नसक्ने कुरा नेपाल उद्योग परिसंघ पुनः ध्यानकार्षण गराउन चाहन्छ । राजनीतिक समस्याको समाधान आपसी वार्ता, सहमती एवं समझदारीका आधारमा राजनैतीक तवरले हुनु पर्दछ भन्ने पक्षमा नेपाल उद्योग परिसंघले सधै आफ्नो धारणा राख्दै आएको छ । 
परिसंघ कुनै पनि प्रकारको बन्द हड्ताल र अवरोधको विपक्षमा छ । दैनिक काम गर्न पाउने, विद्यालय जान पाउने, आ–आफ्नो उद्योग व्यवसाय संचालन गर्न पाउने र अस्पतालमा गएर औषधी उपचार गर्न पाउने आम नागरिकको अधिकारलाई कहि र कतैबाट पनि अवरोध गरिनु हुन्न र नागरिक स्वतन्त्रताको सम्मान सबैले गर्नु पर्छ भन्ने विषयमा पनि परिसंघ जोड दिन चाहन्छ । यसै परीपेक्षमा नेकपा–माओवादी सहितका ३० राजनैतीक दलहरुलाई प्रस्तावित लामो बन्द र अवरोधको  कार्यक्रम फिर्ता लिन नेपालको संपूर्ण निजी औद्योगिक क्षेत्रको तर्फबाट आव्हान गर्दै आपसी वार्ता र सहमतीको माध्यमबाट समस्याको समाधान गरिनु पर्छ भन्नेमा परिसंघ पुनः जोड दिदै बन्दलाई फिर्ता लिन नेकपा–माओवादी लगायत ३० राजनैतीक दलहरुलाई नेपाल उद्योग परिसंघ आग्रह गर्दछ ।