महाभूकम्पबाट पिडितहरुका लागि परिसंघबाट राहत वितरण जारी

विनाशकारी भूकम्पबाट पिडितहरुको सहयोगार्थ नेपाल उद्योग परिसंघ (CNI) ले महसंचार समेतको सहकार्यमा आफ्ना सदस्य संघ संस्थाहरुको सहयोगमा राहत (नगद तथा जिन्सी) संकलन एवं वितरणको कार्यक्रम जारी राखेको छ ।

यसै क्रममा परिसंघ र मह संचारको पहलमा संचालित नागरिक राहत कोष मार्फत गत सोमबार देखिनै प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ विभिन्न जिल्लाहरुमा राहत सामाग्रि वितरण कार्यक्रम प्रारम्भ गरिरहेको छ ।

यसरी प्रारम्भ गरिएको कार्यक्रममा परिसंघले २० मेट्रिक टन वारावरको खाद्यन्न, पाल, कम्वल, औषधी, पानी लगायतका सामान सिन्धुपाल्चोकका भूकम्प पिडितहरुका लागि वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य मार्फत वैशाख १६ गते चौतारामा आयोजित कार्यक्रममा त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

त्यसै गरि वैशाख १७ गते काठमाण्डौको सुन्दरी जल स्थित उत्तर वाहिनी सैनिक व्यारेकमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यात र वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माबाट गोकर्णेश्वर नगरपालिकाका कार्यकारी प्रमुखलाई विभिन्न राहत सामाग्रि हस्तान्तरण गरिएको छ ।

परिसंघबाट यसरी हस्तान्तरण गरिएका राहत सामाग्रीहरुमा चिउरा, चाउचाउ र कम्बल छन र उक्त सामाग्रीहरु विशेषतः सुन्दरीजल, वालुवा र नयाँपाटी क्षेत्रका भूकम्प पिडितहरुका लागि वितरण गरिने छ ।

परिसंघले यसरी संकलित राहत सामाग्री केन्द्रिय राहत तथा आपूर्ति व्यवस्था समितिको समन्वय एवं सल्लाहमा तोकीएका जिल्लाहरुमा वितरण गरिहेको छ भने उक्त राहत सामाग्रीहरु परिसंघ तथा परिसंघसंग आवद्ध युवा उद्यमीहरुको संजाल “राउण्ड टेवल” मार्फत वैशाख १७ गते नुवाकोट, दोलखा, धादिङ र रामेछापमा सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । यसरी हस्तान्तरण गरिएका सामानहरुमा ४० टन वरावरको चामल, चिउरा र चाउचाउ रहेका छन ।

महाभूकम्प पिडितहरुको सहयोगार्थ परिसंघले प्ररम्भ गरेको राहत वितरण कार्यमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग पुर्याई यस संकट पूर्ण घडीमा साथ दिन परिसंघ आफ्ना सदस्य संस्थाहरु लगायत सम्पूर्ण महानाभावहरुलाई नेपाल उद्योग परिसंघसंग हातेमालो गर्न पुनः हार्दिक अनुरोध गर्दछ ।

नेपाल उद्योग परिसंघ सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो उद्योग प्रतिष्ठान तथा व्यवसायहरु यथासक्य संचालन गरि दैनिक आधारभूत वस्तुहरुको आपूर्ति व्यवस्थालाई सामान्य वनाउन पुनः आग्रह गर्दछ ।