बन्दै गरेको राजनैतिक सहमतिले संविधान समयमै आउने परिसंघको आशा

प्रमुख राजनीतिक दलहरु वीच संघीय प्रदेशको सिमाङ्कन विवादमा भएको सहमतिले धेरै समय अगाडी देखि थाति रहेको मुख्य विषयमा निकास निस्केको महशूश नेपाल उद्योग परिसंघले गरेको छ । संविधानको मस्यौदा अन्तिम निर्णयको क्रममा रहेकोले संविधानको मस्यौदामा निजी क्षेत्रले दिएको सुझाव समेत समावेश गरी समय सीमा भित्रनै संविधान जारी गरी मुलुकमा व्याप्त आर्थिक अन्योल, अशान्ति र अनिश्चितताको अन्त्य भई मुलुकले आर्थिक विकासको निश्चित मार्ग पहिचान गरि तिव्रतर विकासमा जोड दिने अपेक्षा परिसंघले लिएको छ ।
संविधान मूलतः राष्ट्रिय सहमतिको दस्तावेज हो । मुलुकमा भएको ऐतिहासिक परिवर्तन पछि राजनीतिक स्थिरता र लोकतान्त्रिक नयाँ नेपालको दीगो निमार्णका लागि मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनुको अर्को विकल्प छैन । यसै यथार्थतामा अव निमार्ण हुने संविधानमा समाधान हुन बाँकी अन्य विषय साथै निजी क्षेत्रले दिएको सुझाव समेटिनु पर्दछ र समयमानै संविधान आउने अपेक्षा एवं विश्वास परिसंघले लिएको छ ।