परिसंघ र संयुक्त अधिराज्यको हाउस अफ लड्र्सकी बर्मा बीच भेटवार्ता

नेपाल भ्रमणमा रहनु भएकी संयुक्त अधिराज्यको हाउस अफ लड्र्स (House of Lords) की माननीय श्री बारोनेस बर्माले पौष १४ गते नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा दुई मुलुकबीच आर्थिक एवं व्यापारिक सम्बन्ध अभिवृद्धिको प्रचुरतम सम्भावनाको अधिकतम प्रयोग गर्न जोड दिनु भयो ।
सो अवसरमा ब्रिटिश सांसदको स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले हाल मुलुकमा स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सम्पन्न भइ मुलुक आर्थिक समृद्धिको ऐजेण्डामा केन्द्रित रहेको सन्दर्भमा संयुक्त अधिराज्यले नेपाललाई विगत २०० वर्षदेखि दिइरहेको सहयोग तथा सद्भावको सह्राहना गर्दै आगामी दिनमा समेत आर्थिक तथा औद्योगिक क्षेत्रमा सहयोग प्राप्त भइरहने आशा एवं विश्वास व्यक्त गर्नु भयो । संयुक्त अधिराज्यले ब्रेइक्स्टि (BREXIT) पछिपनि नेपालको आर्थिक एवं व्यापारिक सम्बन्धमा कुनै कमी नगर्ने र यो सम्बन्ध आगामी दिनमा अझ बढी दृढ, मजबूद र निरन्तर हुनेमा जोड दिनु भएको थियो । नेपालबाट कार्पेट, चिया, कफी, पश्मिना, हस्तकला, ननटिम्बर फरेष्ट प्रोडक्ट आदिको निर्यातका प्रसस्त सम्भावना रहेको र संयुक्त अधिराज्य नेपालको १० ठूला मुख्य व्यापार साझेदार रहेको जानकारी गराउनु हुँदै नेपालले व्यहोरी रहेको उच्च व्यापार घाटा द्विपक्षीय व्यापारले केही कम गर्न सक्ने सम्भावना समेत रहेको बताउनु भयो । 
२ मार्च १९९३ मा नेपाल र संयुक्त अधिराज्य बीच लगानी संरक्षण सम्झौता भइसकेको सन्दर्भमा संयुक्त अधिराज्यको लगानी नेपालमा सुरक्षित हुने र अब नेपालमा लगानी गर्न अनुकूल वातावरण बन्दै गएकोले यहाँ लगानी गर्न माननीय बर्मा मार्फत बेलायती उद्योगी, व्यावसायी एवं लगानीकर्तालाई आग्रह समेत गर्नु भयो । 
सो अवसरमा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
alt
 
alt