पूर्वाधार सम्मेलनको पूर्व तयारी प्रदेश–१ मा अन्तरक्रिया कार्यक्रम

altनेपाल उद्योग परिसंघबाट आगामी भाद्रमा काठमाण्डौमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्व तयारीको क्रममा परिसंघको तर्फबाट श्रावण २३ गते प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
प्रदेश १ का मूख्यमन्त्री माननीय शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री माननीय जगदीश प्रसाद कुशियैत, प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय सुबोधराज प्याकुरेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्मा तथा प्रदेश–१ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मूख्यमन्त्री राईले परिसंघले आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०१९ यस प्रदेशको पूर्वाधार विकासको सन्दर्भमा समेत एक महत्वपूर्ण एवं उत्साहजनक कार्यक्रम हुने भएकाले प्रदेश–१ बाट समेत त्यस क्षेत्रका सम्भावित परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने र आगामी दिनहरुमा यस्ता योजनाहरुलाई अझै परिस्कृत गर्दै लगिने कुरा जनाएका थिए ।
उक्त अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले प्रदेशहरुमा पूर्वाधारको सम्भावना र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई पूर्वाधार सम्मेलनमा छलफल सहित अगाडी बढाउन परिसंघबाट समेत आवश्यक पहल गरिने उल्लेख गरे ।
यस पटकको तेस्रो पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि सबै प्रदेशहरुको पूर्वाधारको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी सम्मेलनमा गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई नेपाल पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी परिसंघबाट कार्यक्रम तय गरिएको छ ।
सो कार्यक्रममा परिसंघ प्रदेश–१ का संयोजक मिनप्रकाश मैनाली, परिसंघका गभर्निङ्ग काउन्सिल सदस्य वासुदेव गोल्यान, नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष एवं परिसंघका राष्ट्रिय परिषद सदस्य आनन्द सुवेदी, मोरङ्ग उद्योग संगठन, मोरङ्ग व्यापार संघ लगायत स्थानीय उद्योगी तथा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
alt