प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा परिसंघको चाँसो

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको दीगो समाधानका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्ने:
प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्र्तक्र्रियामा सरकार र निजी क्षेत्रले वातावरण सरंक्षणमा नयाँ कार्ययोजना तय गरेर सहकार्य गर्न सहमति जनाएका हुन् । 
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मुल्याङ्कन र त्यसका नकारात्मक असर कम गर्न तीनै तहका सरकार तथा सरकारी निकायहरु र निजी क्षेत्रले मिलेर काम गर्नु पर्ने समय आएको बताउनु भयो । वन तथा वातावरण मन्त्रालयले यसमा पहल लिन सुझाव दिदै उद्योग मन्त्री यादवले त्यस्तो पहललाई लिएर अघि बढ्न उद्योग मन्त्रालय तयार रहेको बताउनु भयो । प्लाष्टिकको उपयोग कम गर्न, गुणस्तरीय प्लाष्टिकको उपयोग बढाउन र प्लाष्टिकजन्य फोहोरको पुनः प्रयोग गर्ने उद्योग स्थापनामा सघाउन मन्त्रालय तयार रहेको पनि मन्त्री यादवले उल्लेख गर्नु भयो । 
सो अवसरमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दिगो विकासलाई केन्द्रमा राखेर प्लाष्टिकको प्रयोग कम गर्ने तथा पुनः प्रयोगका लागि प्रोत्साहन गर्ने नीति लिएको बताउनु भयो । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोरको पुनः प्रयोग तथा व्यवस्थापनाका लागि निजीसँग सहकार्य गर्न महानगर तयार रहेको बताउनु भयो । त्यसका लागि महानगरले परिसंघको वातावरण समितिसँग नियमित सहकार्यका लागि पनि न्यौपानेले आग्रह गर्नु भयो । 
सोहि अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघ र यसमा आवद्ध उद्योगी–व्यवसायीहरुले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताउनु भयो । अध्यक्ष मोरले भन्नु भयो, हाम्रै लगानीमा रहेको होग्सी शिबम् सिमेण्ट उद्योगले फोहोर प्रशोधनबाट १२ मेगावाट ऊर्जा निकालेर उपयोग गरेको भन्दै वातावरणमा ध्यान दिँदा उत्पादनमूल्यमा समेत बचत भएको छ । प्लाष्टिकको हकमा पनि प्लाष्टिक पुनः प्रशोधित गर्ने उद्योगले आयातलाई कम गरेर अर्वौ रुपैयाँ विदेश जान रोकि विदेशी मुद्रा सञ्चितिमा सहयोग पुर्‍याउन सक्छन् । त्यसैले पुनः प्रशोधित प्लाष्टिक उद्योगहरुको सञ्चालनमा सहयोग पुर्‍याउन सरकार र सम्बन्धित निकायले सहयोग गर्न जरुरी छ ।
कार्यक्रमका स्रोत व्यक्तिको रुपमा बोल्दै सियाली दिगो विकास अभियानका प्रमुख नोरम्यान चुवाले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सिंगापुर, चीन र अन्य एसियाली मुलुकले अपनाएका असल अभ्यासबारे विस्तृत जानकारी गराउनु भयो । त्यस्ता असल अभ्यासलाई नेपालले समेत सिकेर प्लाष्टिकको प्रयोगबाट उत्पन्न हुने वातावरणीय ह्रास कम गर्न सक्ने बताउनु भयो । प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा यसको पुनः प्रशोधनका लागि नयाँ लगानीको अवसर रहेकोले सरकार र निजी क्षेत्रले साझेदारी गर्न पनि प्रमुख चुवाले सुझाव दिनु भयो । 
परिसंघको वातावरण समितिका उप–संयोजक कुशल हरजनिले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर संकलनदेखि व्यवस्थापनमा नयाँ–नयाँ उद्यमी र स्टार्टअपहरु बारे जानकारी गराउनु भयो । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा यसको पुनः प्रशोधनका लागि सरोकारवालाहरु बीच थप समन्वय हुन जरुरी रहेको पनि उप–संयोजक कुशल हरजनिले उल्लेख गर्नु भयो । 
कार्यक्रममा परिसंघका उपाध्यक्षहरु, वातावरण समितिका संयोजक शरद टिवडेवाला, निजी क्षेत्रका प्रतिनिधि उद्योगि व्यवसायीहरु तथा सरकारका विभिन्न निकायका प्रमुखहरुको सहभागिता थियो ।
alt