नेपाल उद्योग परिसंघको भावी योजना र रणनीतिः

नेपाल उद्योग परिसंघको भावी योजना र रणनीति बारे अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले मिति २०६९ पौष १५ गते आयोजित पत्रकार भेटघाटमा व्यक्त मन्तब्य,

पत्रकार मित्रहरु,

परिसंघका पदाधिकारी मित्रहरु,

दशौं वार्षिक साधारण सभा पछि परिसंघको नेतृत्व हाम्रो जिम्मामा आएको छ । आफ्नो यात्रा क्रम संगै नेतृत्व परिवर्तनलाई हामीले स्वाभाविक रुपमा लिएका छौं । परिसंघलाई यहाँहरुबाट प्राप्त सहयोग, समर्थन र सद्भावको लागि हार्दिक आभार व्यक्त छौं ।

यहाँहरु र हामी बीचको सम्वाद, भेटबार्ता निरन्तर भई रहने प्रकृया हो र यसलाई नियमित गर्ने प्रयास हाम्रो रहने छ । आजको भेटबार्तालाई हामीले एक अवसरका रुपमा लिएका छौं र आज यहाँहरुलाई आमन्त्रण गर्नुको मुख्य उद्देश्य परिसंघले अब आउँदा दिनमा अवलम्बन गर्ने रणनीति र कार्ययोजनाका वारेमा जानकारी गराउनु हो ।

परिसंघको नेतृत्व हाम्रो जिम्मामा आए संगै यसको यात्रामो अर्को चरण प्रारम्भ भएको छ । तापनि सम्बृद्ध नेपाल निर्माणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी वनाउन कटिबद्ध परिसंघले आफूले निर्दिष्ट गरेको निम्न Vision र Mission मा खास परिवर्तन आउने छैन ।

क) दूरदृष्टि (Vision)

औद्योगिक क्षेत्रलाई सशक्त र प्रतिस्पर्धि वनाई दीगो आर्थिक विकास तथा दुई अङ्कको आर्थिक बृद्धिदर प्राप्त गर्नको लागि लगानी मैत्रि वातावरण श्रृजना गर्न प्रमुख भूमिका खेल्नु ।

ख) लक्ष्य (Mission)

उद्योगव्यवसाय बीच स्वस्थ प्रतिस्पर्धा, दक्ष व्यवस्थापन र स्वदेशी तथा वैदेशिक लगानी विस्तार संगै रोजगारीका अवसर श्रृजना गर्नु ।

नेपालको निजी क्षेत्रको विचार भण्डार (Think Tank) नेपाल उद्योग परिसंघले आफ्नो उपरोक्त Vision and Mission लाई केन्द्र विन्दुमा राखी आगामी रणनीति सहित कार्यक्रम तय गर्ने छ ।

मुलुकको आर्थिक सम्बृद्धि एवं औद्योगिक विकासको प्रमुख कडि (Main Engine) निजी क्षेत्र र आर्थिक एजेण्डाले ऐले सम्म पनि प्राथमिकता पाएन । आर्थिक मुद्दा आज पनि ओझेलमा नै छन् । राजनीतिक परिवर्तन पछि पनि निजी क्षेत्रले राखेका माग र सुझावलाई सरकार वा राजनीतिक दलहरुबाट आवस्यक मात्रामा सम्बोधन हुन सकेको छैन । तदर्थवादमा नै अहिलेको अर्थतन्त्र सन्चालीत छ ।

राजनीतिक संकट संगै देशको आर्थिक एवं औद्योगिक स्थिति हरेक कोणबाट नाजुक छ । त्यसकारण नेपालको अर्थतन्त्रलाई केन्द्रविन्दुमा राख्दै राजनीतिक दलहरुले देशको अर्थतन्त्रलाई निकास दिनु पर्दछ । विश्वव्यापी खुल्ला अर्थतन्त्रको यथार्थता संगै निजी क्षेत्रको अग्रसरतामा मात्र देशको समग्र आर्थिक विकास सम्भव हुने भएकोले अव मुलुक खुल्ला अर्थतन्त्रबाट फिर्ता हुने अवस्था छैन ।

परिसंघ समस्या मात्र अघि सारेर वस्ने स्थितिमा छैन । चुनौति संगै अवसरको सदुपयोग गर्न परिसंघ तयार छ । यसको लागि परिसंघले निम्न रणनीति सहितका कार्यक्रम आगामी दिनमा परिचालन गर्ने व्यहोरा यहाँ उल्लेख गर्न चाहन्छु ;

  • आर्थिक तथा औद्योगिक विस्तारको पहिलो सर्त “लगानी मैत्रि वातावरण” श्रृजना गर्नु हो । यसको लागि परिसंघले उठाउँदै आएको विषय (क) विशेष आर्थिक क्षेत्र ऐन (ख) नयाँ औद्योगिक व्यवसाय ऐन (ग) वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउने वातावरणको लागि आवश्यक पैरवी र पहल गर्ने छ ।
  • यसको लागि परिसंघले सवै राजनीतिक दल, सरकार, दातृ निकाय एवं सम्बन्धित (Stake Holders) संगको सम्बाद र छलफल सहित कार्यक्रम गर्ने छ ।
  • मुलुक संघिय प्रणालीमा जान लागेको अवस्थामा सोही अनुरुपको राजश्व एवं श्रोत परिचालनको खाका कस्तो हुने हो, यसमा निजी क्षेत्र स्पष्ट र विश्वस्त हुन जरुरी छ । त्यसैले उक्त प्रणालीमा जानु अघि परिसंघले सवै राजनीतिक दलहरु, सरकार र निजी क्षेत्रबीच राष्ट्रिय बहसको लागि आवस्यक पैरवी गर्ने छ ।
  • “श्रम र राजनीति”लाई अलग नगरे सम्म श्रम समस्या समाधान हुन सक्दैन । यस्तै जव सम्म श्रम प्रशासन चुस्त र प्रभावकारी हुदैन तव सम्म “प्रतिष्ठान स्तरको” श्रम समस्या रहिनै रहन्छ । त्यसैले श्रम क्षेत्रको सुधारमा द्विपक्षीय र त्रिपक्षीय सम्बादको कार्यक्रम सहित परिसंघले “श्रम र अर्थ” बीचको तादम्यता रहने गरि कार्य सन्चालन गर्ने छ ।
  • आर्थिक विकासमा वैदेशिक लगानी (FDI) को ठूलो महत्व छ । रोजगारी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, नयाँ व्यवस्थापन, वजार विस्तार गरि स्वदेशी लगानीलाई समेत बढाउने कार्यमा समेत सहयोग पुग्ने हुदा FDI को प्रवद्र्धनमा परिसंघबाट रचनात्मक भूमिका हुने छ ।
  • परिसंघले सरकार, दातृ निकाय तथा अन्य सरोकारवालाहरु सँग संमन्वय गरि पूजीँ परिचालन, तथा औद्योगिक उत्पादनको लागि प्रभावकारी भुमिका निर्वाह गर्नेछ ।
  • यसैगरी व्यापार सहजिकरण तथा निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि परिसंघले अनुसन्धान तथा विकास, सञ्जाल विस्तार तथा सूचना आदान प्रदानको प्रणालीलाई बढी प्रभावकारी बनाउने छ ।
  • आफ्नो संवन्ध स्थापित भएका द्धिपक्षीय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय च्याम्वर तथा व्यवसायिक संघ संस्थाहरु सँगको सम्वन्धलाई थप प्रगाढ बनाउदै परिसंघका सदस्यहरुको दक्षता र सिपलाई अभिबृद्धी गर्नमा उपयोग गर्ने रणनीति सहितको कार्ययोजना तर्जूमा गरिने छ ।
  • परिसंघले सामाजिक व्यवसायको अवधारणालाई समेत आत्मसाथ गर्दै संस्थागत सुशासनका साथै परिसंघमा पहिले नै स्थापित ‘नागरिक राहत कोष’ को माध्यमबाट व्यवसायिक सामाजिक उत्तरदायित्वका कार्यलाई थप विस्तार गर्दै जानेछ ।
  • परिसंघले पहिला देखी नै उठाउँदै आएको नेपाली लगानीकर्ताले विदेशमा लगानी गर्न पाउनु पर्ने, नयाँ नयाँ प्रविधिको विकास र विस्तार गर्नका लागि सरकारको तर्फबाट प्रविधि विकास कोष स्थापना गर्ने लगायतका विषयमा आफ्नो भुमिकालाई थप सक्रिय बनाउँदै लैजानेछ ।

अन्त्यमा,

  • आफ्नो एक दशकको यात्रामा परिसंघले थुप्रै अप्ठेरा र चुनौतिका वावजुद नेपालमा औद्योगिक विकासका लागि नेपाल सरकार, राजनीतिक दलहरु, नागरिक समाज र पत्रकार सवैको सहयोगले  आफ्ना कार्यक्रमहरु संचालन गरेको यहाँहरुलाई विदितै छ । आफ्नो स्थापना काल देखी नै मुलुकको आर्थिक उन्नतीका लागि परिसंघले अघि सारेका औद्योगिक वातावरण सुधार, लगानी प्रवर्धन, व्यापार सहजिकरण र खुला बजार आदि विषयका सवालमा यहाँहरु सबैले दिनु भएको साथ र सकारात्मक भुमिकाका लागि परिसंघ आभारी छ । आउँदा दिनहरुमा पनि यहाँहरुबाट सकारात्मक सहयोग एवं सुझावको अपेक्षा गर्दै यहाँहरुलाई स्वागत एवं धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।