कञ्चनपुर–कैलाली च्यापटर समुद्घाटन

Kanchanpur-KailaliChapterOpening

नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग परिसंघले सोमवार आफ्नो कञ्चनपुर कैलाली च्याप्टर उद्घाटन गरेको छ । नेपालका प्रमुख औद्योगिक तथा व्यवसायिक केन्द्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा उक्त च्याप्टर समुद्घाटन गरिएको हो । च्यापटर उद्घाटन गर्न कञ्चनपुरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पौडेलले परिसंघको कञ्चनपुर कैलाली कार्यालय उद्घाटन गर्नु भएको हो । परिसंघको उपस्थितिले सुदूरपश्चिमाञ्चलमा उद्योग व्यवसायलाई थप विस्तारित बनाउन सहयोग हुने छ,पौडेलले भन्नुभयो ।

उद्घाटन समारोहमा परिसंघका उपाध्यक्षहरु मनोज केडिया र बासुदेव गोल्यानका साथै परिसंघका महानिर्देशक मेघनाथ न्यौपाने लगायत स्थानीय उद्योगी व्यवसायीहरु, परिसंघका सदस्यहरु, प्रतिनिधि संस्थाका पदाधिकारीहरु र कञ्चनपूरका अधिकांश सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो । परिसंघ (CNI) को कञ्चनपुर कैलाली च्याप्टर संयोजक श्री हेमविक्रम थापाले उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । कञ्चनपूरमा परिसंघको साखा स्थापना भएपछि यहाँका उद्योगी व्यवसायीहरुको मनोबल बढेको छ, थापाले भन्नुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री लोकबिक्रम थापाले स्थानीय व्यवसायीहरुको हकहित संरक्षण तथा उद्योग व्यवसायको प्रवर्धनका लागि परिसंघ र महासंघ सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

परिसंघका उपाध्यक्ष तथा संजाल विस्तार समितिका राष्ट्रिय संयोजक श्री बासुदेव गोल्यानले नेपालका औद्योगिक केन्द्रहरुमा सञ्जाल विस्तार गर्ने परिसंघको नीति अनुरुप कञ्चनपुर कैलाली च्याप्टर स्थापना भएको बताउनु भयो । परिसंघका अर्का उपाध्यक्ष मनोज केडियाले परिसंघले आफ्नो सन्जाल विस्तारसँगै स्थानीय स्तरका साना तथा मझौला उद्योगहरुको विकास गर्ने रणनीति अनुरुप नै विभिन्न स्थानमा आफ्नो उपस्थिति बढाउदै लगेको र आगामी दिनहरुमा यसलाई निरन्तरता दिइने बताउनु भयो ।