प्राधिकरण र उद्योगीबीच छलफलः समस्या समाधान नभए थप आन्दोलन गर्ने रुपन्देही उद्योग संघको घोषणा

बुटवल, बैशाख ७

हालको लोडसेडिङ्ग, ट्रिपिङ्ग र लो भोल्टेजका  विरुद्ध रुपन्देही उद्योग संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका उद्योगी एवं आम उपभोक्ताहरुले मंगलबार तेस्रो दिन पनि विद्युत प्राधिकरण वितरण शाखामा धर्ना दिएका छन् । विद्युतको लापर्वाहीका कारण उत्पन्न उद्योग संचालनको समस्या समाधानका लागि बिद्युत प्राधिकरण गम्भिर नभएको भन्दै उद्योगीहरुले पटक पटक दवावमूलक कार्यक्रमहरु गर्दै आइरहेतापनि प्राधिकरणले सोतर्फ गम्भिर चासो नदेखाएको उद्योगीहरुको गुनासो छ ।

मंगलबार बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालयको आह्वानमा रुपन्देही उद्योग संघका पदाधिकारी र विद्युत प्राधिकरण क्षेत्रीय, ग्रिड तथा वितरण शाखाका प्रमुख एवं प्राविधिकहरुको वार्ता सम्पन्न भएको छ । रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठकको नेतृत्वमा गएको उद्योगीहरुको वार्ता टोलीले भारतीय लाइनको भोल्टेज ज्यादै कम भएको र उक्त लाइनको भोल्टेज सुधार वा नेपाली बिद्युत लाइनबाट विद्युत वितरण गरी जेष्ठ ८ गतेसम्म समस्या समाधान नगरेमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु गर्ने जनाएको छ ।

प्राधिकरणको तर्फ बाट उपस्थित कार्यालय प्रमुखहरुले यस क्षेत्रबाट गर्न सकिने सुधार तत्काल गर्ने र थप सुधारका लागि माथिल्लो निकायसँग तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । वार्ताबाट यस क्षेत्रका विद्युत समस्या समाधानका लागि प्राधिकरणका सम्पूर्ण सम्बन्धित कार्यालयहरुबाट सक्दो प्रयास गर्ने आश्वासन प्राप्त भएको संघले जनाएको छ ।

प्राधिकरणले तत्काल समस्या समाधान नगरेमा संघले जेष्ठ ९ गतेदेखि सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने संघका महासचिव गणेश प्रसाद अधिकारीले जानकारी गराउनु भएको थियो ।

वार्ता टोलीमा संघका तर्फबाट अध्यक्ष तेज कुमार पाठक, निवर्तमान अध्यक्ष एजाज आलम, वरिष्ठ उपाध्यक्ष वोनिन पिया, उपाध्यक्ष दिनेशराज रेग्मी, महासचिव गणेशप्रसाद अधिकारी, कोषाध्यक्ष बिष्णु कुमार श्रेष्ठ, कार्यसमिति सदस्य कृष्ण पराजुली, उद्योगी विदुर ढुंगाना, विजय खरेल तथा संघका प्रमख कार्यकारी अधिकृत यादव भण्डारी र प्राधिकरणको तर्फबाट क्षेत्रीय कार्यालयका निमित्त प्रमुख गोपाल बहादुर शाह, प्रमुख उपप्रबन्धक प्रकाशनसिं प्रधान, वितरण शाखाका प्रमुख मुनिन्द्र ठाकुर, क्षेत्रीय कार्यालयका सहायक प्रबन्धक युवराज आचार्य, बुटवल ग्रिड शाखाका प्रमुख राजेन्द्र मिश्र, इन्जिनियर संजय कुमार मिश्र, राजु भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

यादव प्रसाद भण्डारी

प्रमुख कार्यकारी अधिकृत