बेलायती राजदुत र परिसंघ पदाधिकारी भेटवार्ता

H.E.AmbassadorAndrewJamesSparkandPresidentNarendraBasnyat H.E.AmbassadorAndrewJamesSparkwithCNIOfficials

बुधवार नेपालका लागि बेलायती राजदुत एन्ड्रयू जेम्स स्पार्क (H.E Mr. Andrew James Spark) र नेपाल उद्योग परिसंघ (CNI) का पदाधिकारी बिच नेपाल र बेलायतको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भयो । परिसंघको सचिवालय थापाथलीमा भएको सो छलफलमा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यात, उपाध्यक्षहरु हरिभक्त शर्मा, शतिस मोर र वसन्त मिश्रका साथै राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।

छलफलमा परिसंघ अध्यक्ष बस्न्यातले स्पार्कको कार्यकाल नेपाल र बेलायतको आर्थिक र व्यवसायिक संबन्ध थप गहन बनाउन र नेपालमा बेलायती लगानी भित्रयाउन सहयोगी रहने विश्वास ब्यक्त गर्नुभयो । ‘२०० वर्ष पुरानो नेपाल र बेलायतको राजनीतिक तथा कुटनीतिक संवन्धलाई अव आर्थिक तथा व्यापारिक संबन्धमा केन्द्रित गर्नु पर्ने समय आएको छ,’ बस्न्यातले भन्नुभयो, ‘तर अहिलेसम्मको तथ्यांक हेर्दा नेपालमा बेलायतको लगानी त्यती संतोषजनक देखिएको छैन भने नेपाली उत्पादनहरुले बेलायती बजारमा सहुलीयतपूर्ण प्रवेश पाउन सकेका छैनन् ।’ त्यसैले अहिले रहेका यावत समस्याहरुको समाधान गर्दै आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानीको सम्भावना भएका जलबिद्युत र पर्यटनलगायतका क्षेत्रमा बेलायती लगानीकर्ताका साथै कम्पनीहरुलाई आमन्त्रण गर्न बेलायती समकक्षिहरु सँग संवन्ध विस्तार र आपसी हितमा मिलेर काम गर्न परिसंघ सदैब तयार रहेकाले यस कार्यमा सहयोग गर्न राजदुत स्पार्कलाई अध्यक्ष बस्न्यातले आग्रह गर्नुभयो ।

प्रतिउत्तरमा राजदुत स्पार्कले नेपालको आर्थिक विकास तथा व्यवसायिक वातावरण सुधार बेलायत सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । ‘सोही अनुरुप सार्वजनिक निजी संवादलाई प्रभावकारी बनाउन, ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको सूरक्षा तथा नीजि क्षेत्रको विकासका लागि बेलायती दुतावासले अन्तरराष्ट्रिय वित्त नियोग सँग मिलेर काम गरिरहेको छ,’ राजदुत स्पार्कले भन्नुभयो, ‘समग्र पक्षहरुको मूल्यांकन गर्दा बदलिँदो परिस्थितिमा वाञ्छित दरमा आर्थिक बृद्धि र समावेशी विकास हाँसिल गर्नका लागि नेपालले आफ्नो आर्थिक प्रारुप (Model) मा समय सापेक्ष परिमार्जन गर्दै जानु पर्ने देखिन्छ ।’ साथै नेपाल र बेलायतविच कुटनीतिक संवन्ध स्थापित भएको २०० वर्ष पुगेको अवसरमा बेलायत सरकारले नेपालमा बिशेष मिसन र प्राथमिकता प्राप्त कार्यक्रम ल्याउन लागेको जानकारी पनि राजदुत स्पार्कले दिनुभयो ।